बेपत्ता श्रीमती खोजीदिन श्रीमानको आग्रह
- सोमबार माघ १७ , २०७८
विष्णु अधिकारी, बर्दिया । आमा बेपत्ता भएपछि ३ जना बालबालिका विचल्लीमा परेका छन् । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ६ दिपेन्द्र नगर टोलमा भाडामा बस्दै आएका शसीराम घर्तिको श्रीमति ३५ बर्षिय शान्ति घर्ति एक महिना देखि बेखबर भएपछि बालबालिकाहरु विचल्लीमा परेका हुन । न्यून आयस्तरका घर्ति आफुले लागेसम्म श्रीमतीको खोजी गरेता पनि हालसम्म पनि नभेटिएपछि खोजीदिन सबैलाई आग्रह गरेका छन् ।
श्रीमति नभएपछि बालबालिकाको हेरचाह गर्न बाबु घर्तिलाई हम्मे हम्मे परेको छ । सामुदायिक बनमा चौकिदार गरेवापत मासिक ४५ सय आम्दानीले बालबालिकाको लालनपालन गर्न थप चुनौती बन्दै आएको छ । श्रीमती वेपत्ता भएसँगै काममा जानु कि बालबालिकाको स्याहार गर्नु घर्तिको लागि थप कष्टकर बनेको छ । पुष माघ महिनाको तराईको कठाङ्ग्रीदो जाडोमा चिसो सिमेन्टको फर्समा रात काट्न बाध्य छन्, चिसोका कारण बालबालिकामा विभिन्न संक्रमणहरु समेत देखिने गरेको छ ।
श्रीमती वेपत्ता भएपछि नाबालक बालबालिकाको रेखदेख गरिरहेका ५२ बर्षिय घर्तिले वेपत्ता भएकी श्रीमतीको खोजी गरिदिन अनुरोध गरेका छन् । घर्तिले श्रीमती वेपत्ता भएपछि छोराछोरीको लालनपालन गर्न कठिनाई भएकाले सहयोगि निकायले सहयोग गरिदिएमा राहत हुने बताए । उनले गहभरि आशु झार्दै अब म यि छोराछोरी हेरौं कि हातमुख जोर्न काम गर्न जाउँ भनि विलौना गरेका छन् । उनका ४ बर्षिय छोरी, ६ र १० बर्षका छोरा भएकाले सम्पुर्ण अभिभारा आफुमा परेकाले छोरा छोरीको विचल्ली भएको चुरेकुञ्जसँग बताए ।
सोही टोलमा बस्दै आएका लिला बहादुर बुढाथोकिले उनको अवस्था देखेर निशुल्क एउटा कोठा दिएका छन् । बुढाथोकिले सुत्ने खाट, रासन लगाएतका सामाग्रीहरु नहुँदा चिसो भुईमा गुजारा गरिरहेको बताए । उनले नाबालक केटाकेटीलाई शिक्षा दिक्षा तथा पालनपोषणका लागि सहयोगको आवश्यकता रहेको बताएका छन् । बालबालिकाको विचल्ली देखेर छरछिमेकले विस्कुट, चाउचाउ दिने गरेको स्थानीय शोभा थापा भण्डारीले बताईन ।
आमाको अभावका कारण बालबालिकाहरुको विचल्ली अवस्था रहेको भण्डारीको भनाइृ छ । गरिबीका कारण बाहिर आगनमा खाना बनाउनु पर्ने बाध्यता छ । बालबालिकाको हरेचाह तथा शिक्षा दिक्षाका लागि कुनै दातृ निकाय भेटीएमा बालबालिकाको उद्धार हुने उनको भनाई छ । विचल्लीमा रहेको बालबालिकाको उद्धारका लागि सहयोगी निकायले पहल गर्नुपर्ने देखिन्छ । बालबालिकाको लालनपालन तथा शिक्षा दिक्षामा स्थानीय निकाय, संघसंस्थाले पहल गरेमा बालबालिकाको जिवनमा लागेको ग्रहणबाट मुक्त हुने थिए ।