दशगजामा भारतीय बनरक्षक र नेपाली स्थानिय बीच कुटाकुट
- सोमबार माघ १७ , २०७८
मुरली गोडिया, गुलरिया । बर्दियामा सिमावर्ती क्षेत्रको दशगजामा भारतिय बन रक्षक र नेपाली बीच कुटाकुट भएको छ । गुलरिया नगरपालिका वडा नम्बर ९ स्थीत रामपुर टेपरी गाँउ नजिकै जोडिएको सिमावर्ती दशगजामा दुवैपक्ष बीच कुटाकुट भएको हो ।
कुटाकुटका क्रममा भारतिय बन रक्षक प्रवेश कुमार र सहयोगी राममिलनको टाउकोमा चोट लागी घाइते भएका छन । घाइते दुवैको उपचार बर्दिया अस्पताल गुलरियामा भएको छ । बनरक्षकसँगै रहेका ३ जना भारतिय नागरिक र गुलरिया नगरापलिका वडा नम्बर ९ रामपुर टपरी गाँउका स्थानिय ३ जना युवाबीच कुटाकुट भएको हो ।
प्रहरीले झगडामा संलग्न भएको आरोपमा ३ जना नेपाली स्थानियहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार ३२ बर्षिय अजमेर अली, ३० बर्षिय चेतराम चौधरी र ३२ बर्षिय विक्की गीरीलाई पक्राउ गरेको हो । भारतिय जंगलमा काठ काट्न गइरहेका युवाहरुलाई रोक्न खोज्दा यस्तो घटना भएको बनरक्षकले जिकिर गरेका छन ।
स्थानिय रत्नप्रसाद देवकोटाका अनुसार भारतिय बनरक्षक र नेपाली नागरिक संगको मिलीमतोमा जंगल प्रवेश गर्न दिने गरेको बताएका छन । जंगलबाट काठ दाउरा काट्न जाने क्रममा प्रवेश गर्न खोज्दा बनरक्षक सहितको नागरिकले पहिले हात हालेको र प्रतिकारमा वन रक्षक माथी नेपालीहरुले हात हालेको स्थानियको भनाई छ । नेपाली युवाहरु माथी चोटपटक हुन थालेपछि ती युवाहरु प्रतिरक्षा गर्ने क्रममा उक्त घटना घटेको स्थानियको दाबी छ ।