बनभोज खानेको रोजाईमा गुलरियाको बालापुर पिकनिक स्पोर्ट
- आइतबार माघ १६ , २०७८
विष्णु अधिकारी, गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ५ मा रहेको बालापुरको पिकनिक स्थललाई स्तरोन्नती गर्ने काम सुरु गरिएको छ । गुलरियाकै पिकनिक हबको रुपमा स्थापित भैरहेको बालापुर बनभोज स्थल गुलरियाबासीको पहिलो रोजाई बनेको छ ।
विशेष गरेर बालापुर पिकनिक स्थलमा युवायुवती, सरकारी कर्मचारी, विभिन्न संघ संस्था लगाएत सबैको रमणिय स्थलको रुपमा विकशित भैरहेको बालापुर पिकनिक स्थललाई गुलरिया नगरपालिका वडा नं. ५ कार्यालयले स्तरोन्नती गर्ने काम सुरु गरेको छ । वरिपरि सामुदायिक वन र नजिकै रहेको बबई नदिका कारण सो पिकनिक स्थल सबैको लागि रमणिय र शान्त वातावरण रहेको छ ।
करिब २ विगाहा क्षेत्रफलमा फैलिएको पिकनिक स्थललाई वडा नं. ५ कार्यालयले तारवार तथा ट्रस्ट निर्माणका लागि १९ लाख ९० हजार रुपैया छुट्टाई काम थालनी गरेको छ । पिकनिक स्थलमा पिकनिक खेल्न आउनेहरुका लागि पिकनिक स्थलमै भाँडा, दाउरा, दरि थारु सामुदायिक वन उपभोक्ता समुहले न्युन शुल्क निर्धारण गरि सेवा सुविधा प्रदान गरिरहेको सामुदायिक वनका अध्यक्ष सोम बहादुर थारुले बताएका छन् । पिकनिक स्थल वडाको मात्र नभई गुलरिया नगरपालिकाको सम्पत्ति भएकाले सो क्षेत्रको विकासका लागि नगरपालिकाले पनि सहयोग गरि भ्यु टावर, शौचालय, पार्क लगाएत अन्य भौतिक संरचनाहरु निर्माणका लागि सहयोग गर्न अध्यक्ष थारुले नगरपालिकालाई अनुरोध गरेका छन् ।
गुलरिया नगरपालिकाको परिचय दिन सफल बालापुर पिकनिक स्थललाई स्तरोन्नती गरेमा बर्दिया सहित अन्य छिमेकी जिल्लाको समेत पिकनिक गन्तव्य बन्ने उनको भनाई छ । गुलरिया नगरपालिका वडा नं. ५ का वडा सदस्य युवराज श्रेष्ठले बालापुरमा आन्तरिक पर्यटकहरु प्राय बर्षै भरि पिकनिक खेल्न आउने गरेकाले वडा नं. ५ कार्यालयले वडाको बजेटबाट पिकनिक स्थललाई व्यवस्थित गर्ने क्रममा तारवार र ट्रष्ट बनाउने काम सुचारु गरेको जानकारी दिएका छन् ।
वडाको बजेटले मात्रै सो क्षेत्रको भौतिक पुर्वाधार बनाउन कठिनाई भएकाले गुलरिया नगरपालिकाले पनि थप लगानी गर्नुपर्ने धारणा उनको छ । बालापुर पिकनिक स्थलको विकाससँगै समग्र गुलरिया नगरपालिकाको नै विकास हुने भएकाले यस्ता क्षेत्रको स्तरोन्नतीका लागि सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको वडा सदस्य श्रेष्ठले बताए ।