घाम नलागी चिसो बढेपछि जनजीवन प्रभावित
- आइतबार माघ १६ , २०७८
मुरली गोडिया, गुलरिया । बर्दियामा करिब २ साता देखि बढेको अत्याधिक चिसोका कारण जनजिवन प्रभावित बनेको छ । बिहान बाक्लो हुस्सु सँगै दिनभरि घाम नलागी कुहिरो लाग्न थालेको छ । कुहिरो सँगै चल्ने चिसो हावाले बिहान स्थानीय घरबाहिर निस्कन सकेका छैनन् ।

बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझ पख पनि चिसो झनै बढ्न थालेपछि बजार सम्साँझै सुनसान हुन थालेका छन् । चिसोले मानिसहरु घरबाहिर ननिस्केपछि बर्दियामा हुने गरेको दैनिक व्यापारीक कारोबारमा कमि आएको गुलरियाका व्यापारी वसी अहमद बब्लुले बताउनु भयो । चिसोले धेरैजसो बालबालिका तथा बृद्धबृद्धाहरुलाई बाहिर निक्कन समस्या भएको छ ।
चिसोका कारण कृषकलाई आफनो अन्नबाली भित्राउन सकस भएको छ । खेतमा तोरी पाकेको भएपनि चिसोले निकाल्न सकिएको छैन । शितलहरका बेला विगतमा सरकारले चोक चोकमा दाउरा उपलब्ध गराएपनि यस पटक केहीले दाउरा नपाएको गुनासो गरेका छन । टाढाबाट आउने जानेहरुका लागी भएपनि बजारका चोक चौराहा तथा गाँउबस्तीको चोकहरुमा दाउराको व्यवस्था मिलाई दिन गेरुवा गाँउपालिका वडा नम्बर ६ का स्थानिय जीतराम थारुले माग गर्नुभयो ।

बर्दियामा करिब २ हप्ता देखी घाम लाग्न पाएको छैन । विगतमा बजारमा देखिएको चहलपहल भन्दा चिसो बढैसंगै बजार सुनसान झै भएको छ । बाक्लो हुस्सुले गर्दा बिहान १० मिटर भन्दा पर देख्न सकिँदैन, सवारी साधन कम गतिमा बत्ती बालेर गुड्न थालेका छन् । हुस्सुले दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ भने गा्रामिण भेगका महिला, बालबालिका, वृद्धवृद्धा तथा अन्य दैनिक ज्यालादारी गरि पारिवार पाल्ने व्यक्तिहरुका लागी शितलहरले प्रभावित बनाएको गुलरिया बजारका स्थानिय बाबुराम पौडेले बताउनु भयो । पश्चिम तराईका जिल्लाहरूमा केहि दिनयता चिसो ह्वात्तै बढेको हो ।
दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण आम नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ । बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले थप जोखिममा भएकाले यो मौसममा उनीहरूले विशेष ख्याल पु¥याउनु पर्ने बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुभाष पाण्डेयले आग्रह गर्नुभयो । चिसोमा तातो झोलिले चिजहरु सेवनगर्दै न्यानोमा बस्न चिकित्सकको सुझाव छ ।
