शहिदले देखाएको बाटोमा सबै हिड्नुपर्छ : सांसद संजय गौतम
- आइतबार माघ १६ , २०७८
विष्णु अधिकारी, गुलरिया । शहिद दिवसको अवसरमा गुलरियामा रहेको शहिद पार्कमा रहेको शहिदहरुको शालीकमा माल्यार्पण गर्दै शहिद दिवस मनाइएको छ । नेपालमा क्रान्तिको लहर उत्पन्न गरेका कारण वि.सं. १९९७ सालको पर्चा काण्डमा राणा शासकले फाँसीको सजाय दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द तथा गंगालाल श्रेष्ठले गरेको शहादतको सम्झनामा शहिद दिवस मनाउने गरिएको नेपाली काँग्रेसका संघीय सांसद, केन्द्रिय सदस्य एवम् पूर्व सिंचाई मन्त्री संजय गौतमले बताएका छन् ।
जिल्ला समन्वय समिति बर्दियाले आयोजना तथा संघीय साँसद गौतमको समन्वयमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी गौतमले राणा शासन देखि हाल सम्म भएका आन्दोलनका उपलब्धिहरुलाई जोगाउन सबै नागरिकहरु गोलबद्ध हुन आग्रह गरेका छन् । नेपाली जनताले राजनैतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेको र देश विकास र समृदिको मार्गमा अघि बढिरहेकाले शहिदको सपना पुरा गर्न सबै दलको भुमिका अपिरिहार्य रहेको धारणा व्यक्त गरेका छन् ।
उनले प्रजातन्त्र, लोकतन्त्र, संघिय लोकतान्त्रिक गणतन्त्र लगाएतका उपलब्धिहरु प्राप्तीको मुख्य श्रेय शहिदहरुमा जाने भएकाले हामीले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गरि जनभावना अनुरुप अघि बढनु पर्ने बताए । लोकतन्त्र प्राप्तीका लागि प्राणाहुती दिएका बर्दियाका शहिद यमलाल लामिछाने प्रति गौतम्ले बर्दियावासीको तर्फदेखि श्रद्धाञ्जली अर्पण गरेका थिए । शहिदले देखाएको बाटोमा सबैजना हिड्न नेता गौतमको आग्रह छ ।
प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । सोही सन्दर्भमा गुलरियामा पनि शहिद दिवस मनाइएको छ । विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, नागरिक समाज, जिल्ला समन्वय समितिका प्रमुख शंकर थारू, गुलरिया नगर प्रमुख मुक्तिनाथ यादव, नेपाली कांग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौर, लगायतले शहीदहरूको शालिकमा माल्यार्पण एवम् श्रद्धाञ्जली व्यक्त गरेका छन् ।