नेपाल–भारत सीमावर्ती बर्दियाका नाकाहरुमा कडाई
- सोमबार माघ १० , २०७८
चुरेकुञ्ज, बर्दिया । बर्दियाको भारतसँग जोडीएका सीमा नाकामा कडाई गरिएको छ । कोभिड १९ ओमिक्रोन भेरियन्ट बढेसँगै सीमावर्ती आवागमनमा कडाई गरिएको छ ।
कोरोना संक्रमणको दर बढ्न थालेपछि भारत–नेपाल सीमाबाट हुने आवागमनलाई कडाई गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताएका छन् । केही दिन जिल्लाका ८ वटै स्थानियतहका उद्योग बाणिज्य संघका अध्यक्षहरुले संयुक्त रुपमा नाकामा कडाई गर्नुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय बर्दियामा ध्यानाकर्षण पत्र वुझाएका थिए ।
कोरोना कहरका विच भारत तर्फको आवागमन रोक्नुपर्ने ब्यापारीहरुको दवाव प्रशासनलाई थियो । सीमावर्ती सबै सुरक्षा पोस्टमा स्वयम पुगेर नाकामा कडाई गर्न निर्देशन दिएको प्रजिअ सुनारले प्रष्ट्याए । उनले भने अब सीमा नाका टाईट भएको छ । सबै चौकीहरुलाई मैले सीमाना कडाई गर्न सर्कुलर गरेको छु । बर्दियाको बलैगाउँ, लौकाही, चितलावा, सोलारपुर, बठनिया बजार, कर्तनिया लगायतका अवैध नाकाबाट भारतीय बजारमा नेपालीहरु घरायसी सामान किनमेलका लागि जाने भएकाले पनि आवागमन बढेको छ ।
भारततर्फ जाने नेपालीहरु र नेपालतर्फ आउने भारतीयहरु दुवैलाई हामीले फर्काएका छौं । बर्दियाको गुलरिया नगरपालिका गणेशपुर स्थित लौकाही नजिकै नेपाली नाकाको चेकजाँचमा बसेका शसस्त्र प्रहरीका सिपाही नन्दराम सिजापतिले बताए । हामीले धेरैलाई फर्काएका छौं । नजिकैका वानी परेका स्थानियहरु भारततर्फ जान करकाप गर्छन् तर हामीले छिर्न दिएका छैनौ । परिचय पत्रका आधारमा अति विरामीहरुलाई मात्र जान छुट दिएका हौं अन्यथामा नाकामा कडाई गरेका छौं ।
स्थानिय प्रशासनले कोभिड महामारीका बेला सीमानामा गरेको कडाई प्रशंसनिय रहेको ध्यानाकर्षण पत्र वुझाएका उद्योग बाणिज्य संघ बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताए । हामीले दिएको ध्यानाकर्षण पत्रको सुनुवाई स्थानिय प्रशासनले गरेकोमा हामी खुशी छौं । उनले भने ब्यापारीहरुको गुनासोलाई अभिभावकत्व प्रदान गर्न पाण्डेले प्रशासनलाई अनुरोध गरे ।