fbpx

राजमार्गमा यात्रुले फालेका प्लाष्टिक चित्तलले चाट्ने डर

राजमार्गमा यात्रुले फालेका प्लाष्टिक चित्तलले चाट्ने डर


चुरेकुञ्ज, बर्दिया । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्ज भित्र सवारीसाधनबाट यात्रुहरुले फालेका प्लाष्टिक चित्तल लगायतका बन्यजन्तुहरुले चाट्ने डर छ । निकुञ्ज भएर गुड्ने निजी तथा सार्वजनिक सवारी साधनमा सवार यात्रुहरुले निकुञ्ज भित्र प्लाष्टिकजन्य फोहर फाल्दा प्रदुषणसँगै बन्यजन्तुलाई जोखिम बढेको हो ।

गुडीरहेको सवारी साधनबाट यात्रुहरुले निकुञ्ज ईलाकामा फालेका चाउचाउ, दालमोठ, विस्कुट, पानीका बोतल लगायतका प्लाष्टिक जन्य फोहरले बन्यजन्तु माथी जोखिम बढाएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । चित्तलहरुले सडक क्रसगर्ने क्रम तथा आहारा खोज्ने क्रममा फालेका प्लाष्टिकहरु चाट्ने गर्छन् । मानविय उच्छृंखलका कारण हेलचक्राई गर्दा बन्यजन्तुको स्वास्थ्यमा नकारात्मक असर पर्छ । जसले गर्दा संरक्षण माथी नै चुनौती थपिन्छ ।

उनले भने हामीले अम्रेनी–चिसापानी सडकखण्ड सरसफाई गरेका छौं । निकुञ्जको अगुवाईमा नियमित कार्य अन्र्तगत वातावरणीय सरसफाई तथा बन्यजन्तुका हितका लागि राजमार्ग सरसफाई गरिएको हो । सडकमा सवारीबाट निकुञ्ज क्षेत्रमा प्यासेन्जरहरुले फालेका प्लाष्टिकजन्य फोहरहरु हामीले पटक पटक सरसफाई गर्दै आएका छौं । संरक्षित क्षेत्रहरुमा फोहर नफाल्न होर्डिग बोर्ड मार्फत सूचना पनि गरेका छौं । तरपनि कोही कोहीको लापरवाहीका कारण समस्या उत्पन्न हुन्छ ।

निकुञ्ज कर्मचारी, नेपाली सेना, मध्यवर्ती समिति, महिला वातावरण समिति, ईटीडीएफ, चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरुको सहभागीतामा राजमार्ग सरसफाई गरिएको हो । उनले थपे चित्तल लगायतका वन्यजन्तुहरु ओहोर दोहोर गर्ने तथा निकुञ्ज क्षेत्रमा फोहरजन्य प्लाष्टिकहरु फोहर नफाल्न सबैलाई अनुरोध छ । निकुञ्ज भित्रको राजमार्ग क्षेत्रमा मासिक रुपमा ठूलो परिमाणमा प्लाष्टिकजन्य फोहरहरु संकलन हुने गरेको उनले प्रष्ट्याए ।

निकुञ्जले निकुञ्ज भित्रको राजमार्गमा नेपाली सेनाको चेकपोष्ट मार्फत सवारी साधनको गति नियन्त्रण लगायत फोहर नफाली सुरक्षित यात्रा गर्न सचेतपार्दै आएको छ । निकुञ्ज परिसरको सडक खण्डमा टाईम कार्ड समेत लागु गरिएको निकुञ्जले जनाएको छ । सवारी साधनको तिव्र गति भएका कारण सवारी र्दुघटनामा परी थुप्रै बन्यजन्तुहरुको मृत्यु भएको अधिकृत श्रेष्ठले बताए । राजमार्ग क्षेत्रमा बर्षेनी सवारी र्दुघटनामा अधिकांस चित्तल मर्ने गरेको छ । उनले निकुञ्ज भित्र राजमार्ग क्षेत्रमा गति नियन्त्रण गरेर सवारी साधन चलाउन आग्रह गरेका छन् । यात्राका क्रममा हिंस्रक बन्यजन्तु देखिए उसलाई बाटो काट्न दिनुपर्ने अधिकृत श्रेष्ठको भनाई छ ।

तपाइको मत