बर्दियामा उत्साहकासाथ नयाँ मतदाता नामावली दर्ता गरिँदै
- आइतबार माघ ९ , २०७८
चुरेकुञ्ज, बर्दिया । बर्दियामा हजारौं नयाँ मतदाताहरुले नामावलीमा नाम समावेश गरेका छन् । पौष मसान्त सम्म नागरिकता लिएका पुरुष, महिला तथा तेस्रो लिंगी नागरिकहरुले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । केहीले मतदाता ठाउँसारी, अद्यावधिक लगाएत नामावलीबाट नाम समेत हटाएका छन् ।
बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढेको जिल्ला निर्वाचन अधिकारी बुद्धिबहादुर खत्रीले बताए । असार मसान्त अघि २ लाख ९४ हजार ९६४ मतदाता रहेकोमा श्रावण महिनादेखि पुष मसान्त सम्म १७ हजार ८३० जना नयाँ मतदाता थपिएर ३ लाख १२ हजार ७९४ जना मतदाता पुगेका छन् । पुष अन्तिम सम्म नागरिकता लिएकाले पनि मतदाता नामावलीमा नाम समावेश गरेका छन् । उनले भने आगामी मतदाता नामावली अद्यावधिकका बेला मतदान प्रयोजनका लागि १८ बर्ष उमेर पुगेकालाई कटअफ डेट तोक्छौ जसमा केही संख्या घट्न सक्छ ।
निर्वाचन कार्यालयले विभिन्न स्थलहरु तोकेर नियमित तथा विशेष नामावली दर्ता गरेको थियो । खत्रीका अनुसार नियमिततर्फ जिल्ला निर्वाचन कार्यालयमा २९ सय ३७, जिल्ला प्रशासन कार्यालय बर्दियामा ४२ सय ३८, ईलाका प्रशासन कार्यालय राजापुरमा १६ सय ३८, ईलाका प्रशासन कार्यालय बाँसगढीमा २ हजार ३१ जनाले नाम दर्ता गराएका छन् । त्यस्तै विशेष दर्ता प्रकृया मार्फत बढैयाताल गाउँपालिकामा १४ सय १७, बारबर्दिया नगरपालिकामा १४ सय ९२, मधुवन नगरपालिकामा १६ सय २२, ठाकुरबाबा नगरपालिकामा १५ सय ७१ र गेरुवा गाउँपालिकामा ८ सय ८४ जनाले मतदाता नामावली दर्ता गरेका छन् ।
जनशक्ति अभावका कारण सबैपालिकाहरुमा विशेष नामावली दर्ता अभियान गर्न नसकेको प्रमुखले प्रष्ट्याए । उनले थपे पुस मसान्त सम्म १७ हजार ८ सय ३० जनाले नयाँ नाम दर्ता, ४ सय २३ जनाले ठाउँसारी, ५६ जनाले त्रुटि सच्चाउने लगायतका अद्यावधिक र १ जनाले नामावलीबाट नाम हटाएका छन् । नामावली दर्ता लगायतका कार्य जारी छ । अझै रोकिएको छैन । आयोगले निर्वाचनको मिति घोषणा गरे लगत्तै नाम दर्ता कार्य स्थगित गर्छौ । असार मसान्त अघि मतदाता नामावलीमा नाम समावेश गर्ने तेश्रोलिंगी ६ जना हुन् । पुष मसान्त सम्म ७ जना थपिएर १३ जना पुगेका छन् । जनाको नाम हट्छ होला । उहाँ तेस्रो लिंगीले लिंग परिवर्तन गरी महिला बन्नु भएको छ ।