गुलरिया स्थित समृद्धि सहकारीको शेयर पूँजी ५६ लाख रुपैया
- बुधबार माघ ५ , २०७८
चुरेकुञ्ज, गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ७ मा अवस्थित समृद्धि कृषि बहुउद्देश्यीय सहकारी संस्थाले शेयर पूँजी ५६ लाख २४ हजार ६ सय पुर्याएको छ । शेयर पूँजी बृद्धि गर्न सफल सहकारीले गत आर्थिक बर्षमा १ करोड ५२ लाख १५ हजार ६ सय ७७ रुपैयाको कारोवार गरेको छ ।
सहकारीको २१ औं साधारण सभागर्दै सहकारीले आयब्यय अनुमोदन गरेको छ । सहकारीका लेखा प्रमुख अर्जुन सुवेदीले संस्थाको आय ब्यय प्रस्तुत गरेका छन् । गैर सरकारी संस्था महासंघका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा आयोजित साधारण सभाको उद्घाटन शत्रमा सहकारीलाई अघि बढ्न कोभिड संक्रमण महामारीले प्रभाव पारेको संस्थाका अध्यक्ष निमबहादुर थापाले बताए । संस्थामा ५ सय ७ जना शेयर सदस्य रहेको उनले जानकारी दिए । संस्थाले २३ लाख ११ हजार ६ सय १२ रुपैया मुनाफा आर्जन गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिमिल्सिनाले सहकारीले आफ्नो मुल्य मान्यता र सिद्धान्तलाई आत्मसातगर्दै अघि बढ्नुपर्ने बताए । सहकारीमा राजनिति गर्न नहुँने उनको भनाई छ । शेयर सदस्यहरुको पूँजीलाई डुब्न नदिन सहकारीले प्रयत्न गर्न चुक्न नहुने प्रमुख अतिथीले सुझाए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले सहकारीबाट समुदायको जिवनस्तर उकास्न सहज हुने बताए । जसका लागि सदस्यहरुको ऐक्यवद्धता जरुरी रहेको अध्यक्ष आचार्यको भनाई छ ।