fbpx

जब निकुञ्जमा बाघ मेरो नजिकै सुतिरहेको देखें

जब निकुञ्जमा बाघ मेरो नजिकै सुतिरहेको देखें


रमेश कुमार थापा, बर्दिया । कुरा २०४३ साल तिरको हो । म बर्दिया राष्ट्रिय निकुञ्जको बेतहानी पोष्टमा कार्यरत थिएँ । त्यतिबेला बफरजोन घोषणा भैसकेको थिएन । तर बफरजोनको अवधारणा अनुसार निकुञ्जसंग जोडिएको दक्षीण तर्फको वनक्षेत्रलाई प्रस्तावित बफरजोन भनेर सिमाङ्कन चाहिं गरिएको थियो । गस्तिको क्रममा हामी कहिलेकाहिं प्रस्तावित बफरजोनको वनक्षेत्रमा पनि जाने गर्दथ्यौं । त्यतिबेला हाम्रो पोष्टमा सरकारी सवारी साधनको रुपमा एउटा मात्र साइकील थियो । दुइ जना साथीका ब्यक्तिगत साइकिल पनि थिए ।

हाम्रो क्षेत्र धेरै ठूलो भएकोले पैदल गस्ति गरेर सबै क्षेत्र समेट्न सकिंदैनथ्यो । बेतहानी पोष्टको जिम्मेवारीमा पूर्वमा राँझा र पश्चिममा ढकैलाको पथरिया खोला सम्मको क्षेत्र पर्दथ्यो । नेपाली सेनाको पोष्ट ढकैला र पूर्व चिसापानीमा मात्र थियो । टाढाको गस्ति जानु पर्दा एउटा साइकिलमा दुइ जना बसेर जानुपर्दथ्यो । क्षेत्र ठूलो अनि जनशक्ती र साधन कम भएकोले कहिलेकाहिं ३–४ वटा रुटमा एक्ला एक्लै साइकिलमा गस्ति हिंड्नु पर्दथ्यो ।

एकदिन म एक्लै साइकिलमा बेतहानी पोष्टबाट निकुञ्जको वनपथ (फायरलाइन भन्ने गरिन्थ्यो) हुँदै बेलौली सम्म पुगेको थिएँ । बेलौली पुगेर अस्नेरी, अमोहिया हुँदै बनमुढा भएर बेतहानी पोष्ट निस्कने सोच बनाएँ । अमोहियाबाट बनमुढासम्मको बाटोमा निकै कम मान्छे हिंड्ने गर्दथे । स्कूले बिद्यार्थी र काम बिशेषले बनमुढा, बेलवा तिर गएका मान्छे बाहेक अरु कोहि हिंड्दैनथे । म अमोहियाबाट हिंड्दा घाम ढल्किन लागेको थियो । सुनसान जंगलको बाटो काट्दै गर्दा मानिस बोलेको वा काठ काटेको आवाज सुनिन्छ कि भनेर कान चनाखो पारेर एकोहोरो अगाडी बढिरहेको थिएँ ।

मैले अचानक सडक भन्दा करिब २५ फिटको दुरीमा बाघ सुतिराखेको देखें । साइकिलको आवाज सुनेर होला शायद, बाघ टाउको उठाएर पल्टिरहेको थियो । त्यति नजिक बाघलाई देखेपछि मेरो होस हवास गुम भयो । के गर्ने, के नगर्ने केहि सोच्नै सकेन । मैले एक्कासी साइकिलको गति बढाएँ र बेपत्तासंग साइकिल कुदाएँ । केहि पर अलि उकालो बाटो थियो, त्यहाँ मैले साइकिल चढाउन सकिन । साइकिल त्यहिं छोडेर रुखमा चढ्ने सोच बनाएँ । साइकिल बाट झरिसकेपछि मेरा आँखा अनायास पछाडी बाघ बसेको ठाउँतर्फ सोझिए । बाघ सुस्त गतिमा बाटै बाट म तिरै आउदै रहेछ । त्यो देखेपछि फेरी डरले म अत्तालिएँ र बेपत्ता दौडिंदै अगाडी गएँ ।

केहि पर जंगलको किनारमा बनमुढा गाउँका बिर बहादुर कामीलाई देखें । म बिर बहादुर भए तिरै दौडिंदै गएँ । म दौडिंदै गएको देखेर बिर बहादुर पक्कै मलाई पक्राउ गर्न आयो भन्ने सोचेर होला शायद घरतिर दौडिन थाल्नु भयो । मैले नभाग्नुहोस म तपाईलाई समात्न दौडेको होइन, बाघ देखेर दौडिएको हुँ भने पछि रोकिनु भयो । मैले बाघ भेटिएको घटना सुनाएपछि बिर बहादुर र म साईकिल छोडेको ठाउँतर्फ गयौं । साइकिल तीनसय मिटर जति पर बाघ उभिइरहेको थियो । हामी साईकिल डोर्याउदै केहि पर पुगेर केहि बेर बाघको गतिबिधि नियाल्यौं । बेला बेलामा मुन्टो घुमाएर हामीतिर हेथ्यो तर कुनै प्रतिक्रिया गर्दैनथ्यो । बाघले चाहेको भए त्यो दिन मलाई सजिलै मार्न सक्थ्यो तर कराउने, तर्साउने सम्मको गतिबिधि पनि गरेन । शायद त्यो बाघ भोको पनि थिएन, अशक्त र घाइते पनि थिएन र मान्छे खान पल्केको पनि थिएन होला जस्तो लाग्छ आजकल त्यो घटना सम्झिंदा ।

बिगतमा बाघको आक्रमणमा परी मानिसको ज्यान जाने घटना छिटपुट रुपमा देखिन्थ्यो । तर केहि बर्ष यता मानिस र बाघ बिचको द्वन्द बिगतमा भन्दा बढ्दो क्रममा देखिएको छ । खासगरीकन संरक्षित क्षेत्र र सो संग जोडिएका वनक्षेत्रहरुमा बाघको आक्रणबाट मानबिय क्षति हुने क्रम बढेको देखिन्छ । बाघको आक्रमण सम्बन्धी अधिकांस घटना गाउँबस्ति नजिकको वनक्षेत्रमा हुने गरेको पनि पाइएको छ । पछिल्ला दिनहरुमा मानव–बाघ द्वन्दको पीडाबाट सबै भन्दा बढि प्रभावित बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्र हो ।

हाल आएर सबै भन्दा जेठो राष्ट्रिय निकुञ्ज चितवन र कान्छो राष्ट्रिय निकुञ्ज बाँकेमा पनि यो समस्या बल्झिएको छ । केहि समय देखि चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएको नवलपरासि पूर्वको दुम्किबास आसपासको क्षेत्र र बाँके राष्ट्रिय निकुञ्जसंग जोडिएको राप्तिसोनारी गाउँपालिका क्षेत्रमा मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणको प्रयास भैरहेको छ । आशा गरौं बाघ नियन्त्रणमा लिने प्रयास छिटै सफलतामा परिणत हुनेछ ।

गाऊँबस्ती आसपासको वनक्षेत्रमा मानव–बाघ द्वन्द बढ्नु चोरीशिकार नियन्त्रणको सूचक हुनसक्छ :

केहि समय यता गाऊँबस्ति आसपासको वनक्षेत्रमा मानव–बाघ द्वन्द बढेको छ । बिगतमा बाघको चोरीशिकार डरलाग्दो किसिमले बढेको थियो । खासगरिकन घुमन्ते जीवन बिताउने बावरीया (बञ्जरा) हरुले बयस्क तथा बुढा, अपाङ्ग, अशक्त र घाइते बाघको शिकार गर्ने गर्दथे । उनीहरु बाघ पाइने जंगलको आसपास अस्थायि रुपमा बस्ने, पागल जस्तो भेष गरेर जंगलमा प्रबेश गर्ने र बाघको गतिबिधि निगरानी गरेर बाघ मार्ने गर्दथे । उनीहरुले बाघको मासु खाने, छाला र हड्डी ब्यापारको लागि लैजाने भएकोले बाघको लाश पनि भेटिंदैनथ्यो ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको नेतृत्वमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग, वन बिभाग,शसस्त्र प्रहरी, नेपाली सेनाको संयुक्त प्रयासबाट नेपालमा बाघ मार्ने र बाघका अङ्गहरु ओसार पसार गर्ने बाबरिया (बञ्जरा) हरु ठूलो संख्यामा पक्राउ परे भने केहि भागेर बेपत्ता भएपछि उनीहरुको संजाल तहस नहस भएको थियो । हाल गाउँबस्ति आसपासको क्षेत्रमा समस्याग्रस्त बाघको गतिबिधि बढ्नाले बाबरिया (बञ्जारा)को गतिबिधि छैन जस्तो देखिएको छ ।

बाघहरु आ–आफ्नो निश्चित क्षेत्र ( त्भचचष्तयचथ) मा मात्र सिमित रहने भएकोले असामान्य अवस्थामा बाहेक बाघले आफ्नो क्षेत्र छोड्दैन । आफ्नो क्षेत्र छोडेर भागेको बाघ मात्र समस्याग्रस्त हुन्छ, सबै बाघ समस्याग्रस्त हुँदैनन । आफ्नो क्षेत्र छोड्न बाध्य भइ भागेर अर्को क्षेत्रमा पुगेको बाघ या त निकै कमजोर या निकै बुढो, या त घाइते, अपाङ्ग भएर शिकार गर्न नसक्ने अवस्थाको हुनुपर्दछ । यस्ता बाघहरुको यकिन पहिचान गरी समयमै नियन्त्रण गर्न सकियो भने दुखदः घटना हुन पाउदैन ।

बाघ समाउनु मात्र समस्या समाधान होइन समस्याग्रस्त बाघको यकिन पहिचान र नियन्त्रण मुख्य कुरा हो :

आजकल मानव–बाघ द्वन्दका घटना घट्नासाथ तुरुन्तै बाघ समाउने दबाब आउने गरेका छन । बाघ समाएपछि पीडित क्षेत्रका वासिन्दालाई सुरक्षाको महशुस हुने, नेता र सरकारको माथिल्लो निकायमा बसेका पदाधिकारीलाई बाघ समाएपछि “न रहे बाँस न बजे बाँसुरी“ आनन्दको अनुभूति हुने हुनाले तुरुन्तै बाघ समाउनु नै सफलता ठान्ने गरिएको छ । पहिला पहिला बाघको आक्रमणमा मानिसको मृत्यु भयो भने तुरुन्तै बिज्ञ टोली फिल्डमा गएर त्यहाँको बस्तुस्थितिको अध्ययन र समस्याग्रस्त बाघको यकिन पहिचान गरेर मात्र बाघ समाउने गरिन्थ्यो ।

तर आजकल अध्ययन, अनुसन्धान र बिश्लेषणको पाटो अत्यन्त कमजोर छ । केन्द्रका जिम्मेवार पदाधिकारीहरु फिल्डको समस्या जे जसरी हुन्छ केन्द्रमा कुनै दबाब र गुनासो नआउने गरी फिल्डले नै समाधान गरोस भन्ने सोचाई राखेर पन्छिने गरेको देखिन्छ । उनीहरुको एकसूत्रीय चाहना कुनै किसिमको जनदबाब नआउने गरी फिल्डले छिटो छरितो परिणाम देखिने काम गरोस भन्ने हुन्छ । मान्छेलाई मारेर मासु खाँदै गरेको अवस्थामा भेटियो भने त्यस्तो बाघलाई तुरुन्तै नियन्त्रणमा लिनुपर्ने हुन्छ । तर लास छोडेर भागिसकेको बाघ समाउन धेरै कठिन हुन्छ । फिल्डका आफ्नै धेरै समस्या छन ।

सबै भन्दा ठूलो समस्या त बिज्ञ र दक्ष जनशक्तिको अभाब छ । पुराना अनुभवि कर्मचारी सेवानिबृत्त भैसकेका छन । पहिला पहिला बाघको पञ्जाका आधारमा बाघ पहिचान गर्ने चलन थियो । निकुञ्जका कर्मचारी र वन्यजन्तु प्राबिधिकहरुले बाघको पाइला देखनासाथ नाप लिने, त्यसको आकार हेर्ने र कुन बाघ हो भन्ने अनुमान गर्ने गर्दथे । जसले गर्दा अपाङ्ग, लंगडो, घाइते बाघको बारेमा सूचना अद्यावधिक हुन्थ्यो । आजकल क्यामरा ट्रयाप प्रबिधिले गर्दा पाइलाको नाप लिने, अध्ययन, बिश्लेषण गर्ने चलन पनि हटिसकेको छ । केहि पुराना कर्मचारी र वन्यजन्तु प्राबिधिकले मात्र यो बिधि अवलम्वन गर्ने गरदछन ।

मन्त्रालय र बिभागले पहिला जस्तो आफ्ना कर्मचारीको दक्षता र क्षमता बिकासका लागि तालीम, अध्ययको व्यवस्था गर्न छोडेका छन । यस्तो अवस्थामा कुनै घटना घट्यो कि घटनास्थल वरिपरि भेटिएका बाघ समाउदै थुन्दै गर्नुको बिकल्प पनि के छ र ? तर गम्भिरतापूर्वक अध्ययन बिश्लेषण नगरी, समस्याग्रस्त बाघको यकिन पहिचान नगरी बाघ समाउनु अत्यन्त घातक काम हो । एक त समस्याग्रस्त बाघ यकिन पहिचान नगरि समाउदा अर्कै बाघ पर्यो र समस्याग्रस्त बाघ त्यहिं रहन गयो भने फेरी फेरि पनि दुखदः घटनाहरु दोहोरिने खतरा रहन्छ । अर्को कुरा समस्याग्रस्त बाघ नसमाति अर्को प्रजननयोग्य बाघ समातिन पुग्यो भने बाघको प्रजनन र संख्यामा गम्भिर असर पर्न सक्दछ ।

तसर्थ समस्याग्रस्त बाघ समाउनुपूर्व समस्याग्रस्त बाघको यकिन पहिचान हुन जरुरी छ । यस अर्थमा हाल बाँके र पूर्वी नवलपरासीमा बाघ समाउन ढिलाइ भए पनि त्यहाँ खटिएको टोलीले बाघको पाइला, घुमफिर गरेको क्षेत्र र बाघको गतिबिधिका बारेमा जानकारीहरु संकलन र बिश्लेषण गरिरहेको हुँदा समस्याग्रस्त बाघको यकिन पहिचान भई समस्या निराकरण हुने गरी बाघ नियन्त्रणमा सफलता प्राप्त हुने बिश्वास गर्न सकिन्छ । तर यस बिचमा अर्को दुखदः घटना नघटोस भन्ने तर्फ भने सबै चनाखो र सचेत हुन जरुरी छ ।

रमेशकुमार थापा बर्दिया राष्ट्रिय निकुञ्जका सेवा निवृत्त प्रमुख संरक्षण अधिकृत हुन् । २ माघ २०७८ ।

तपाइको मत