fbpx

गुलरिया बालापुरबासी भन्छन् ‘चौवन्न बर्षदेखि लालपुर्जा पाएनौं’

गुलरिया बालापुरबासी भन्छन् ‘चौवन्न बर्षदेखि लालपुर्जा पाएनौं’


विष्णु अधिकारी, गुलरिया । चौवन्न बर्षदेखि जोतभोग गरिरहेका किसानहरुले अझै सम्म पनि जग्गा धनी लालपुर्जा प्राप्त गर्न सकेका छैनन । विक्रम सम्बत २०२४ साल देखि गुलरिया नगरपालिका वडा नं. ५ बालापुरमा बसोबास गर्दै आइरहेका स्थानीयहरु हाल सम्म पनि लालपुर्जा पाउन नसक्दा लालपुर्जा बिहिन वनेका हुन् ।

विभिन्न समयमा पटक पटकमा राज्यले भुमि आयोग बनाएर काम गरेपनि जनताको समस्या जस्ताको तस्तै रहेको छ । जती पटक आयोगहरु बनेपनि कागजातहरु माग गरि फायल खडा गर्ने मात्र गर्ने गरेको स्थानीय बासीहरुले दुखेसो पोखेका छन् । आयोग बन्छ फाइल माग्ने बाहेक कुनैकाम आयोगले हाल सम्म नगरेकाले पनि उनीहरुले लालपुर्जा पाउन सकेको छैन । जसले गर्दा जनताको आयोग प्रति विश्वास गुमेको छ ।

२०२४ साल देखिनै बाबु बाजेले भोगचलन गर्दै आइरहेको जमिनको कित्ताकाट, नाप नक्शाङ्कन तथा फिल्डबुक तयार हुँदा समेत हालसम्म पनि सम्बन्धित निकायले लालपुर्जा उपलब्ध गराउन नसकेको बालापुर निवासी पिडित तिहार बहादुर चौधरीले बताउँछन् । राजनैतिक दलहरुले चुनावको बेला मात्रै लालपुर्जाका विषयलाई जोडतोडका साथ चुनावी एजेण्डा बनाउने गरेको उनको दुखेसो छ । सरकारले आफ्ना नागरिकलाई गैर नागरिक जस्तो व्यवाहार गर्यो चौधरीले पिडा पोख्दै उनले भने सरकारले लालपुर्जा नदिएकै कारण आफूहरु सरकारबाट पाउने विभिन्न सेवा सुविधा पाउनबाट बन्चित हुनु परेको चुरेकुञ्जलाई बताए ।

सोही बसोबास गर्ने कालि देवि चौधरीले आफु २०५२ सालमा विवाह भएर आए देखी नै लालपुर्जा नपाएका कारण अनेक समस्या झेल्नु परेको बताईन । लालपुर्जाबाट बन्चित भएका कारण बाढी तथा बर्षाले पारेको धानमा भएको क्षतिपुर्ति तथा अन्य पाउनु पर्ने क्षतिपुर्ती पाउन सकेनौ चौधरीले गहभरि आँसुझार्दै भनिन । हामी यहि देशको नागरिक भएर पनि राज्यले फरक देशका नागरिकलाई जस्तो व्यवहार गर्को । लालपुर्जा नभएका कारण जग्गा धितो राखी बैकबाट क्रृण समेत पाउँदैनौं । छिटो लालपुर्जा वितरण गरि जिवन यावन सहज गराइदिन सरकार सँग उनले माग गरिन् ।

लालपुर्जा विहिन सिताराम चौधरीको पिडा पनि उस्तै छ । आफ्ना बाबु बाजेले आफै दश नङ्ग्रा खियाएर जोतभोग गरेको जग्गावाट आफ्नो परिवारको लालनपालन गरिरहेको भएतापनि आफ्ना बालबालिकालाई पढाउनका लागि ऋण समेत लिन पाईएन । उनले भने आफुहरुले उत्पादन गरेको तरकारी बर्दिया लगाएत बाहिरी जिल्लामा जाने गरेको छ तर राज्यबाट पाउने सुविधा भने लालपुर्जा नभएका कारण पाएनौं उनले दुखेसो पोखे । बर्दियाको गुलरिया नगरपालिका स्थित वालापुरमा मात्रै २ सय ५४ घरपरिवारले लामो समय देखि लालपुर्जा पाएका छैनन् । तरकारी खेतीको लागि वालापुर अत्यन्तै उर्भर भएकाले यहाँका अधिकांस स्थानीय तरकारी खेतीमा निर्भर छन् ।

तपाइको मत