fbpx

माइती नेपालले नेपाल भारत सिमानामा सुचना केन्द्र थप्ने

माइती नेपालले नेपाल भारत सिमानामा सुचना केन्द्र थप्ने

चुरेकुञ्ज, गुलरिया । विगत २५ वर्ष भन्दा बढी मानव बेचविखन विरुद्ध कामगर्दै आइरहेको माइती नेपालले बर्दियामा थप सक्रियता बढाउने भएको छ । मानव बेचविखन हुने सन्दर्भमा बर्दिया जिल्ला जोखिम मानिएकाले सक्रियता बढाएको हो ।

खुला सिमानाका भएको विभिन्न नाकाहरुबाट नेपाली चेलिहरु विभिन्न बहानामा छिमेकी मुलुक लगायतका मुलकमा पठाउने गरिएको हुँदा यहाँका नाकाहरुमा विशेष निगरानीको अवश्यकता रहेको बताइएको छ । माइती नेपाल बर्दियाले गरेको नगर परियोजना परामर्श सल्लाहकार समितीको बैठकमा सदस्यहरुले यो विषयमा चासो देखाएका हुन । बैठकका क्रममा गुलरिया नगापालिका वडा नम्बर ११ मा पर्ने भारत नेपाल सिमा लौकाही नाकामा सुचना केन्द्र स्थापना गर्ने निर्णय गरिएको छ ।

उक्त नाकाबाट अधिकांश बालबालिका, महिलाहरु आवतजावत गर्ने भएको हुँदा उक्त क्षेत्रमा सुचना केन्द्र राखेर सोधपुछ एवं आवश्यक परामर्श दिने कार्य गरिने निर्णय गरिएको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले जानकारी दिनु भयो । माइती नेपाल बर्दियाले जिल्लाको सिमावर्ति क्षेत्र संग जोडिएको पालिकाहरु मध्ये ३ वटा पालिकाको सिमा क्षेत्रमा सुचना केन्द्र स्थापना गरेको छ ।

मधुवन नगरपालिका, गुलरिया नगरपालिका र बढैयाताल गाँउपालिकाको सिमा क्षेत्रमा सुचना केन्द्रहरु राखेर काम गरिरहेको रिमालले बताउनु भयो । माइती नेपालले मानव बेचविखन रोकथाम, उद्धार, पुर्नस्थापना, कानुनी एवं स्वास्थ्य सेवा सहितको पुर्नस्थापना केन्द्र सञ्चालन, नाकामा संचालित सुचना तथा परामर्श र जनचेतना मुलक कार्यक्रमहरुको निरन्तरता दिने समेत निर्णय गरेको छ । उक्त बैठक समितीका संयोजक तथा गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तीनाथ यादवको अध्यक्षतामा बसेको थियो ।

तपाइको मत