पश्चिम बबई जलउपभोक्ताको अध्यक्षमा रतनलाल थारु र्निविरोध
- बिहिबार पौष २९ , २०७८
चुरेकुञ्ज, बर्दिया । पश्चिम बबई जलउपभोक्ता समितिको अध्यक्ष पदमा ठाकुरबाबा नगरपालिका वडा नम्वर ५ ढुंग्रहवाका रतनलाल थारू निर्विरोध निर्वाचित हुनु भएको छ । संस्थाको बुधवार ढोढरीमा सम्पन्न १६ औं बार्षिक अधिवेशनले अध्यक्ष लगायत १८ सदस्यीय कार्य समिति र्निविरोध चयन गरेको छ ।
समितिको उपाध्यक्ष लगायत १८ जना क्षेत्रगत सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक यज्ञप्रसाद नेपालले जानकारी दिनुभएको छ । बबई नदीको पश्चिमी क्षेत्रको नहरको पानी सदुपयोग गरी सिंचाई गर्ने ठाकुरबाबा, मधुवन गुलरिया नगरपालिका अन्तर्गतका ५४ मौजाका १ सय ९४ जना प्रतिनिधि छन् ।
संस्थाको साधारण सभावाट उपाध्यक्ष दिलाराम जैसी सहित संस्थाको बिधान अनुरुप साविक बगनाहा, सूर्यपटुवा, ढोढरी, सानोश्री र तारातालबाट १ महिला सहित ३ जना, गुलरिया नगरपालिकाबाट १ महिला सहित २ जना र १ जना दलित समावेशी सदस्य निर्विरोध निर्वाचित भएको संयोजक नेपालले चुरेकुञ्जलार्ई वताउनु भयो । निर्वाचित पदाधिकारीहरुलाई संस्थाका अध्यक्ष पदमराज काफ्ले, जल उपभोक्ता महासंघका केन्द्रीय सदस्य सरिता शर्मा, पूर्व केन्द्रीय सदस्य डवलसिंह साउँद एवम् निर्वाचन समिति संयोजक यज्ञप्रसाद नेपालले प्रमाणपत्र प्रदान गर्नु भएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै नवनिर्वाचित अध्यक्ष रतनलाल थारुले यस क्षेत्रका प्रत्येक किसानका खेतवारीमा सिंचाई सुबिधा पुर्याउन र नहरलाई व्यवस्थित वनाउन आफु लागिपर्ने प्रतिवद्दता व्यक्त गर्नभयो । साधारण सभाको उद्घाटन समारोहमा वोल्दै कार्यक्रमका प्रमुख अतिथी जल उपभोक्ता महासंघका केन्द्रीय सदस्य सरिता शर्मा, विषेश अतिथि लुम्बिनी प्रदेश साँसद कुलप्रसाद पोखरेल, पूर्व सांसद खगराज शर्मा लगायतका वक्ताहरुले यस क्षेत्रमा सिंचाई सुविधा पुर्याउन पश्चिम बबई सिंचाई उपभोक्ता संस्थाले निर्वाह गरेको भूमिका एवम् समस्या र चुनौतीहरूका बारेमा चर्चा गर्नु भयो ।
संस्थाका अध्यक्ष पदमराज काफ्लेको अध्यक्षतामा सम्पन्न साधारण सभाले सचिव रतनलाल थारुद्वारा प्रस्तुत प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष ढिकराम थारूद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा प्रस्तावित आय व्यय विवरण पारित गरेको थियो ।