fbpx

दलितमाथिको अत्याचार नरोकिए कडा आन्दोलन गर्ने अगुवाहरुको चेतावनी

दलितमाथिको अत्याचार नरोकिए कडा आन्दोलन गर्ने अगुवाहरुको चेतावनी

हरि गुरुङ्ग, मधुवन । दाङको घोराहीमा गैरदलित बाहुन क्षेत्रीहरुको सहभागीतामा राष्ट्रिय दलित मुक्ति जागरण अभियानको आमसभा आइतबार सकिएको छ । आमसभाका बक्ता दलित अगुवाहरुले जातीय अत्याचार नरोकिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

जागरण अभियानका पश्चिम संयोजक खगेन्द्र सुनारले दलितहरुमाथिको अत्याचार नरोकिए दलित आन्दोलनले जस्तोसुकै मूल्य चुकाउन पछि नहट्ने चेतावनी दिए । अभियानका पुर्वी संयोजक राजेश विद्रोहीले ७२ वर्षको लोकतान्त्रिक अभ्यासको इतिहासमा पटक पटकको परिवर्तनले दलितलाई दयनीय बनाएका वर्ग र समुदायले नै नेतृत्व गरेकोमा आपत्ति जनाए । उनले अबको संघीय लोकतान्त्रिक गणतान्त्रिक युग दलितहरूको भएको जिकिर समेत गरे ।

जागरण अभियानका दाङ जिल्ला संयोजक केशव नेपालीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि पश्चिम संयोजक खगेन्द्र सुनार र विशिष्ट अतिथि पूर्वी संयोजक राजेश विद्रोही रहेका थिए । कार्यक्रमको उदघोषक गैरदलित समुदायबाट सशक्त समाजिक अभियनता विष्णु देवकोटाले गरेका थिए । अतिथिका रुपमा प्रेम बीस, जोगिन्दर बिश्वकर्मा, निर्मला बिक, सप्तरी संयोजक प्रथमलाल राम, बाँके संयोजक प्रेम बैगार, सचिन गन्दर्भ, खड्क बुढाथोकी लगायतका थिए ।

हजारौंको संख्यामा उपस्थिति कार्यक्रममा दलित समुदायले आफ्नो पहिचान र संस्कृति झल्किनेगरी बाजागाजा सहित नगर परिक्रमा गर्दै सभास्थल पुगेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कलाको प्रस्तुति प्रस्तुत गरिएको थियो । उक्त जागरण सभामा गैरदलित समुदायबाट सुनिल देवकोटा, प्रकाश श्रेष्ठ, सरोज शाह, भव डाँगी, राजु खनाल, अनिता देवकोटा, शंकर डाँगी लगायतको सहमभागिता समेत थियो ।

तपाइको मत