fbpx

बालुवाटार र सिंहदबार घेर्ने प्रचण्डको चेतावनी

बालुवाटार र सिंहदबार घेर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को पल्ट बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । बुधबार राजधानीमा आयोजित विशाल विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई यस्तो चेतावनी दिएका हुन् ।
‘केपीजी अर्कोपल्ट १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउनु नपरोस्’, प्रचण्डले भने । उनले ओलीले घोषणा गरेको चुनाव नौटंकी मात्र भएको भन्दै यो प्रतिगमनविरुद्धको लडाइँ जित्ने विश्वाससमेत व्यक्त गरेका छन् । ‘यो लडाईँमा हामी जित्छोँ । केपीको चुनावी नौटंकी हुनेवाला छैन’, उनले भने, ‘त्यसको भ्रममा नपरौँ ।

प्रचण्डले नेपाली जनतालाई हेप्ने गल्ती नगर्न निर्वाचन आयोगलाई चेतावनी समेत दिएका छन् । मंगलबार मात्र प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगमा पुगेर धम्क्याएको भरमा निर्णय गर्ने गल्ती नगर्न उनले आयोगलाई चेतावनी दिएका हुन् ।

‘केपी ओलीले गएर धम्क्याउँदा मात्र त्यसलाई ठूलो मान्ने गल्ती निर्वाचन आयोगले गर्नु हुँदैन । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ । अढाई सय वर्ष पुरानो सामन्ती शासन फाल्ने जनता यिनै हुन् । यो सत्य कुरा हो । यही हो जित । खेलाची कसैले नठाने हुन्छ’, प्रचण्डले भने, ‘संवैधानिक निकायमा पुगेका मान्छेले खेलाची ठाने देश र जनताले दुःख पाउँछन् ।’

तपाइको मत