बेमौसमी वर्षाले क्षति ब्यहोरेका किसानको राहतमा ढिलाई
- आइतबार पौष २५ , २०७८
मुरली गोडिया, गुलरिया । बेमौसमी वर्षाले लगाएको धानबालीमा क्षती ब्यहोरेका बर्दियाका किसानले पाउनु पर्ने राहतमा ढिलाई भएको पाइएको छ । “बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड २०७८” निर्माण भएपनि पालिकाहरुले समयमै तथ्याङ्क संकलन गरी सिफारिस गर्न नसक्दा राहतमा ढिलाई भएको हो
अन्नका लागि उर्वरभुमि मानिने बर्दियामा धान भित्राउने बेलामा आएको बेमौसमी बर्षा सहितको बाढिले धानबाली नष्ट गरेको थियो । हावा हुरी सहित आएको बाढी तथा पानीले बर्दियाका किसानले लगाएको हजारौं हेक्टरको धान लगायतका बाली नोक्सान भएको थियो । नोक्सानी बेहोरेका कृषकका लागी सरकारले राहत एवं क्षेतिपुर्ति दिने भने पनि करिब ३ महिना पुग्न लाग्दा समेत राहत नपाउदा कृषकले राहत पाउने वा नपाउने अन्यौलमा परेको बारबर्दिया नगरपालिका वडा नम्वर ४ की विपना थारुले चुरेकुञ्जलाई बताईन् । बर्दियामा लगाइएको करिब ३५ हजार हेक्टर धानबाली नोक्सान भएको थियो ।
बर्दियाको राजापुर नगरपालकिा र गेरुवा गाँउपालिकामा स्थलगत निरीक्षणमा आएका प्रधानमन्त्री शेर बहादुर देउवाले नागरिकको पिडामा मलम लगाउने काममा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता गरेको भएतापनी राहतमा ढिलाई भएपछी किसान निरास छन् । स्थानिय पालिकामा कृषकले राहतका लागी फारम भरेको २ महिना बढी भएता पनी अहिले सम्म राहत पाएका छैनन । कृषीमा नै आश्रित किसानहरु ऋण लिएर गहुँ र तोरी लगाएको तर अझैपनि धान नोक्सानीको राहत नपाउनु विडम्बना भएको गुलरिया नगरपालिका वडा नम्वर ८ का किसान सन्तराम लोध बताउँछन् ।
धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्तिक ११ र मंसीर २ गते बसेको मन्त्री परिषद्को बैठकले समेत निर्णय गरी “बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड २०७८” समेत स्वीकृत भइ सकेको छ । सरकारले कृषकका लागी राहत उपलब्ध गराउने कार्यविधि समेत निर्माण गरि सकेको छ । तर स्थानिय पालिकाहरुले क्षतिको यकिन तथ्याङ्क संकलन गरि प्रशासनलाई सिफारिस गर्न ढिलाई गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।
स्थानिय पालिकाले कृषकको के कति क्षति भएको हो भन्ने बास्तविक तथ्याकं आएमा किसानले राहत पाउन ढिलाई हुँदैन । उनले भने बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड २०७८ सम्बन्धी बनेको कार्यविधीमा ३ किसीमको प्रावधान राखिएको छ । १० कट्ठा सम्म धान लगाएकालाई साना किसान अन्र्तगत नोक्सानी भएको लागतको ६५ प्रतिशत क्षतिपुर्ति दिने, ३ बिगाहा सम्म खेति गरेका किसानलाई मध्ययम कृषक भनि लागतको ३५ प्रतिशत दिने भनिएको छ । सो भन्दो बढी धानबाली लगाएकालाई ठुला कृषकका रुपमा लागतको २० प्रतिशत सम्म क्षतिपुर्ति उपलब्ध गराइने कार्यविधिमा उल्लेख गरिएको छ ।