आगामी निर्वाचनमा काँग्रेस एक्लै लड्नुपर्छ : सञ्जय गौतम
- शनिबार पौष २४ , २०७८
चुरेकुञ्ज, गुलरिया । आगामी तिनै तहको निर्वाचनमा नेपाली काँग्रेस एक्लै लड्नु पर्ने नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संघीय सांसद संजय कुमार गौतमले बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन बर्दियाको आठौं अधिवेशनको उद्घाटनका शत्रमा सम्वोधनगर्दै प्रमुख अतिथी गौतमले परिस्थितीले दलहरुसँग सरकारको गठबन्धन गरेपनि आगामी निर्वाचनमा एकल लड्नुपर्ने बताएका हुन् ।
आगामी निर्वाचनबाट एकल नेतृत्वको काँग्रेसको सरकार बनाउनलाई एक्लै निर्वाचनमा जानुको विकल्प छैन । गठबन्धन र मिलिजुलीको सरकारबाट देशले निकास पाउन नसक्ने भएकाले निर्वाचनमा बहुमत ल्याउन काँग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए । आगामी वैशाकमा स्थानिय र मंसिर सम्ममा संघ, प्रदेसको निर्वाचन हुने स्मरण गराउँदै संविधानको मूलमर्म माथी आक्रमण भएकाले त्यसलाई जोगाउन गठबन्धन मार्फत बाध्यात्मक सरकारको नेतृत्व लिनु परेको दोहोर्याए ।
संसद, अदालत नचल्दा सरकार गतिहिन भएर बस्नु परेको उनको जिकिर छ । पार्टीमा विचार खेल्दा राम्रो हुने र स्वार्थ खेल्दा समस्या पर्ने औल्याउँदै काँग्रेसमा १४ औं महाधिवेशनपछि गुट, उपगुट सकिएको दावी गरे । शेरबहादुर देउवा गुटको मात्र नभई सिंगो काँग्रेस पार्टीकै सभापति हुनु भएको छ । काँग्रेसलाई एकताबद्ध बनाउन आग्रहगर्दै उनले भने पार्टीलाई समयमै एकढिक्का बनाउन सफलता मिले निर्वाचनमा पनि पार्टीको वहुमत आउनेमा दुईमत छैन ।
अधिवेशनले सक्षम, सबल, सर्बसम्मत नेतृत्व चयन गर्न शुभकामनादिदैं कर्मचारी देशको स्थायी सरकार भएकाले देश, नागरिक र पार्टीलाई बल पुग्ने गरी कार्यक्षमता प्रस्तुत गर्न उनको अनुरोध छ । कर्मचारी ऐन निर्माणको प्रकृयामा रहेकाले सबैलाई समेट्ने गरी ऐन निर्माण गर्न गौतमको माग छ । कर्मचारीहरुको अनेकन समस्या समाधानका लागि आफूसधै साथमै रहेको प्रतिवद्धता ब्यक्त गरे ।
नेपाल निजामती कर्मचारी युनियन बर्दियाका अध्यक्ष द्रोणराज शर्माको अध्यक्षतामा सम्पन्न अधिवेशनमा लुम्विनि प्रदेसका सांसद भुवनेश्वर चौधरी, नेपाली काँग्रेस बर्दियाका जिल्ला सचिव जग्गाप्रसाद पाण्डे, बर्दिया क्षेत्र नम्वर १ का संघीय सभापति एवम् गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव, युनियनका पूर्व अध्यक्ष एवम् बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने युनियनका केन्द्रिय सदस्यहरु लगायत कर्मचारी संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुले सबै तहका कर्मचारी अटाउने कर्मचारी ऐन तत्काल निर्माण गर्नुपर्ने धारणा राखेका छन् । आजै बन्दशत्र शुरु हुने र सर्वसम्मत कार्यसमिति चयन गरिने जनाईएको छ ।