fbpx

बारबर्दिया नगरको शिक्षा क्षेत्रमा १० बर्षे कार्ययोजना सार्वजनिक

बारबर्दिया नगरको शिक्षा क्षेत्रमा १० बर्षे कार्ययोजना सार्वजनिक


विष्णु अधिकारी, बर्दिया । बारबर्दिया नगरपालिकाले शैक्षिक प्रतिवद्धता, गुणस्तरीय शिक्षा मार्फत सुख, शान्ति र आत्मनिर्भरता सहितको लक्षलिई १० बर्षे शिक्षा क्षेत्र योजना पुस्तक विमोचनगर्दै कार्ययोजना सार्वजनिक गरेको छ । नगरपालिकाले सभ्य र समुन्नत राष्ट्र निर्माणका लागि शिक्षामा लगानी बढाएको हो ।

शिक्षाले जति सकारात्मक भूमिका अरु कुनै चिजले पनि गर्न नसक्ने भएका कारण शिक्षा क्षेत्रमा दश बर्षे गुरुयोजना सहित स्थानीय पाठ्यपुस्तक संगालो सहितको कक्षा १, २, ३ र ६ को पुस्तक सहित शिक्षक डायरी सार्वजनिक गरेको छ । पुस्तकमा बारबर्दियाको चिनारी, संस्कार र संस्कृति, स्थानीय पेशा, व्यवसाय, पर्यटन र आर्थिक क्रियाकलाप लगाएत जीवन उपयोगी सिप र मानव मूल्यमा आधारित शिक्षा समावेश गरिएको छ । बारबर्दियाले विक्रम सम्बत २०७८ देखि २०८८ सम्ममा शिक्षा क्षेत्रमा कस्तो प्रगती गर्ने फेहरिस्त प्रस्तुत गरेको छ ।

भर्चुअल माध्यमबाट पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश मुख्यमन्त्री कुल प्रसाद के.सी (सोनाम) ले बारबर्दिया नगरपालिका बहुलजाती, भाषा, धर्म कला र संस्कृती तथा पर्यापर्यटनले भरिपूर्ण भएको नगरपालिकाले शिक्षा क्षेत्रको उन्नतीको लागि सकारात्मक सोचका साथ कार्य अघि बढाएकोका खुशी व्यक्त गरेका छन् । मुख्यमन्त्री के.सी. ले राष्ट्रलाई दिगो रुपमा अघि बढाउनको लागि दिर्घकालिन सकारात्मक सोचका साथ अघि बढेमा शिक्षाले स्वयं व्यक्तिलाई मात्र नभई राष्ट्रलाई सही बाटोमा डो¥याउन मद्धत गर्ने भएकाले सबै पालिकाको सकारात्मक सोच शिक्षामा लगानी गरि अघि बढ्नु पर्ने बताए ।

उनले तुरुन्तै प्रतिफल पाउनका लागि धान रोपौं, १० बर्षमा प्रतिफल पाउनका लागि विरुवा रोपौं र दिर्घकालिन प्रतिफल पाउन शिक्षामा लगानी गर्नुपर्ने कुरामा जोड दिए । पुस्तक विमोचन कार्यक्रममा बारबर्दिया नगरपालिका प्रमुख दुर्गा बहादुर थारु कविरले शिक्षा मात्रको रट लगाएर मात्र हुँदैन, शिक्षा गतिलो र जिवन उपयोगि हुनुपर्ने बताएका छन् । प्रमुख थारुले शिक्षालाई सर्वजन हिताय बनाउन नसकेपनि बहुजन हिताय भावनाबाट प्रेरित भएर नगरपालिकाले १० बर्षे शैक्षिक योजना सुधार पुस्तक सार्वजनिक गरेको बताए ।

गतिलो शिक्षाका लागि गतिलो कर्म र गतिलो लगानी गर्ने कार्य गरिरहेको बताए । प्रमुखले बारबर्दिया नगरपालिकाले निःशुल्क र अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता गरिसकेको र बारबर्दिया नगरपालिकालाई पूर्ण साक्षर घोषणा गर्ने तयारी गरेको उनले कार्यक्रममा जानकारी दिएका छन् । नगरपालिकाले प्रस्तुत गरेको दश बर्षे शिक्षा क्षेत्र योजनामा शिक्षा क्षेत्रको कायापलट गर्नका लागि नगरी नहुने क्रियाकलाप अघि सारेको छ ।

नगरपालिकाले अभिभावक विहिन बालबालिकाको लागि अभिभावकको भूमिका निर्वाह गर्ने र खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने कार्यक्रमहरुलाई योजनाले उच्च प्राथमिकता दिएर अघि बढ्ने जनाएको छ । नगरपालिकाले पुस्तक तयार गर्न र रचनात्मक सहयोग गर्ने सबै महानुभावहरुलाई धन्यवाद दिएको छ । कार्यक्रममा बारबर्दियाका सम्पुर्ण विद्यालयका प्रधानाध्यापक, शिक्षा क्षेत्रका व्यक्तित्वहरु, विषयगत शाखाको प्रमुखहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाइको मत