खोपमा शिक्षकलाई प्राथमिकता दिऊँ
- बुधबार माघ २८ , २०७७
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंक्तिमा खटिने शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ ।
मन्त्रालयले सरकारको नीति बमोजिम प्राथमिकताको आधारमा खोप लगाउने व्यवस्थाका लागि आग्रह गरेको हो । मन्त्रालयले मंगलबार सचिव स्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधपत्र पठाएको छ ।
‘प्राथमिकताको आधारमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गर्दछौँ’ मन्त्रालयद्धारा लेखिएको पत्रमा उल्लेख छ ।
यसअघि शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एन प्याब्सन लगायत सरोकारवाला निकायले लाखौँ विद्यार्थीसँग जोडिने र फ्रन्ट लाइनमा खटिने शिक्षकलाई कोभिड खोप लगाउनुपर्ने बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए ।
मन्त्री श्रेष्ठले कोभिड–१९ खोप लगाउने अग्रपंतिको सुचीमा शिक्षकलाई राख्न आग्रह गरेका थिए । मन्त्रालयले स्वाथ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेपछि स्वाथ्य मन्त्रालयले थप प्रकृया अघि बढाउने विषयमा आफु विश्वस्त रहेको बताए ।
यसअघि शिक्षा तथा मानव स्रोत केन्द्रले कोभिड १९ को खोप लगाउने विषयमा तथ्याङक संकलन गरिसकेको थियो । सरकारले दोस्रो चरणमा पत्रकार र विदेशी दूतावास, कुटनीतिक नियोगका अधिकारीलाई खोप लगाउन शु्रु गरसकेको छ । यही माघ १४ गतेबाट शुरु भएको अभियानको दोस्रो चरण सोमबारबाट शुरु भैसकेको छ ।
कोभिड विरुद्धको खोपका लागि शिक्षक कर्मचारीको यकिन विवरण संकलन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई गत पुस १० गते नै परिपत्र गरेको थियो । स्वास्थ्य सेवा विभागले मन्त्रालयसँग सामुदायिक र संस्थागत शिक्षण संस्थामा कार्यरत सम्पूर्ण शिक्षकको नामावली पठाउन गरेको पत्राचार अनुसार केन्द्रले विवरण संकलन गरिसकेको छ ।
शिक्षा सचिव गोपीनाथ मैनाली सोमबारबाट शुरु हुने खोप अभियान पहिलो प्राथमिकताकै दोश्रो चरण भएको तर्क गर्छन् । खोपको प्राथमिकता निर्धारण गर्दा शिक्षकलाई पहिलो प्राथमिकतामै राखिएको र त्यो यथावत रहेको उनको तर्क छ ।