प्रहरी कार्यालय बर्दियाको नागरिक सहायता कक्ष समुद्घाटन
- शुक्रबार पौष ९ , २०७८
चुरेकुञ्ज, गुलरिया । जिल्ला प्रहरी कार्यालय बर्दियाको नवनिर्मित नागरिक सहायता कक्षको समुद्घाटन गरिएको छ । गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले शुक्रवार औपचारिक कार्यक्रमका विच सहायता कक्षको उद्घाटन गरेका छन् ।
कार्यक्रमलाई सम्वोधनगर्दै प्रमुख अतिथी गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले प्रहरी र स्थानियतहको नंग र मासुको सम्वन्ध रहेकाले जस्तोसुकै परिस्थितिमा पनि पालिकाले प्रहरीलाई सहयोग गर्न तयार रहेको बताए । गुलरिया नगरपालिकाको सडक पूर्वाधार बिकासमा प्रहरीले खेलेको भूमिकालाई सर्हनागर्दै यादवले आगामी दिनमा प्रहरी कार्यालयलाई थप सहयोग प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले स्थानिय सरकारले गरेको सहयोगलाई विर्सन नसकिने बताउँदै बजारको सहरीकरण तथा यात्रु सुरक्षाका लागि ट्राफिक लाईट जडान गर्नतर्फ गुलरिया नगरपालिकालाई सहकार्य गर्न अनुरोध गरे ।
गुलरिया नगरपालिका वडा नमवर ६ को आर्थिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी कर्मचारीहरुको श्रमदानबाट प्रहरी कार्यालय परिसरमा सुविधा सम्पन्न नागरिक सहायता कक्षको निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक इश्वर कार्कीले बताए ।