मानवअधिकार उल्लंघनका घटना अभिलेखीकरणमा जोड
- शुक्रबार पौष ९ , २०७८
चुरेकुञ्ज, बर्दिया । इन्सेकद्वारा गुलरियामा आयोजित मानवअधिकार वर्षपुस्तक वार्षिक सम्पादन पुर्वसमिक्षा कार्यक्रममा सहभागिहरुले आर्थिक र सामाजिक रुपमा विभेद भोगिरहेका समुहका मानवअधिकार उल्लघनको घटना अभिलेखिकरणमा जोड दिनु पर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले राज्यले मानवअधिकार संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने जिम्मेवारी रहेको बताउँदै सोही अनुसार कामगर्दै आएको बताउनु भएको छ । इन्सेकले आफ्नो स्थापना समयदेखि नै मानवअधिकारको सवालमा महत्वपूर्ण कार्य गर्दै आएको र समय अनुसार सामान्य लाग्ने तर ती कुराले मानिसलाई मानिस भएर बाँच्नलाई अबरोध गरिरहेको विषयलाई पनि इन्सेकले गम्भिरतापुर्वक उठाउन प्रमुख जिल्ला अधिकारी सुनारले आग्रह गर्नु भयो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपि ईश्वर कार्कीले प्रहरी जहिले पीडितको पक्षमा प्रेसरमा नरही स्वतन्त्र रुपमा काम गर्दै आएको बताउनु भयो । नेपाल प्रहरी बिशुद्ध कानुन कार्यान्वयन गर्ने निकाय भएकोले कसै कतैको दवाव र प्रभाव भन्दा माथि उठेर काम गर्दै आएको बताउँदै सामाजिक मुद्धा सम्बोधन र न्यूनिकरण गर्न धेरै समय लाग्न सक्ने तर यसका लागि सबै सरोकार आ आफ्नो ठाउँबाट जिम्मेवारी पुरा गर्न सके असम्भव पनि नरहेको पनि प्रहरी उपरिक्षक कार्की बताउनु भयो ।
बर्दिया जिल्लामा आत्महत्याका घटना स्वास्थ्य समस्याका रुपमा रहेको बताउनु भयो । सो समस्या आर्थिक सामाजिक, सांस्कृतिक धरातलको अवस्थाले काम गरेको हुन सक्ने बताउनु हुँदै यसलाई हटाउन राज्य र गैरसरकारी क्षेत्रमा हातेमालो गरेर अगाडी बढ्न पर्नेमा जोड दिनु भयो । आत्महत्या न्यूनिकरणका लागि आफुले योजना बनाएर ल्याउने तयारी गरिरहको बताउनु हुँदै सबै पक्षबाट सहयोग सहकार्य गर्दै काम गर्नपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधी मानवबहादुर चौधरीले सन २०२१ जनवरी देखि डिसेम्बरसम्म बर्दिया जिल्लामा घटेका मानवअधिकारसंग सम्बन्धीत घटना प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत घटनामा बालबालिका बलात्कार तथा बलात्कार प¥यास ३५, महिला बलात्कार १८, महिला माथि दुरब्यवहार ३, बालविवाह ३, बहुविवाह १५, जातिय छुवाछुत २, बोक्सीको आरोप २, आत्महत्या दुरुत्साहन २, बालिका वेपत्ता १ गरी ८२ वटा रहेका छन् । इन्सेकले विगत २७ वर्ष देखि नेपालको सबै जिल्लामा मानवअधिकार उल्लघनका घटना अनुगमन तथा अभिलेख गरी हरेक वर्ष नेपाल मानवअधिकार वर्ष पुस्तकको रुपमा पुस्तक प्रकासन गर्दै आएको छ ।
सो अवसरमा अन्य सहभागिहरुले बालबालिकाहरु माथि हुने बलात्कार लगायत घटनामा बृद्धि हुनु चिन्ताको विषय भएको बताउँदै हाम्रो सामाजिक बिकास गलत बाटो तर्फ गइरहेको होकी भन्ने चिन्ता बढाउनु भयो । बालविवाह निरन्तर भइरहेको अवस्था भएपनि सरकारी तथा गैरसरकारी सरोकारवालाहरुबाट एकिन तथ्याङ्क आउन नसकेको अवस्थामा इन्सकेले यसतर्फ ध्यान दिनुपर्ने । जेष्ठ नागरिकहरु माथि भइरहेको हिन्साका घटनालाई पनि समेत्न पर्ने । सम्बन्धीत सरोकोरवालाहरुसंग समन्वय सहकार्य नपुगेकोले यसतर्फ ध्यान दिन पर्ने । कार्यक्रममा प्रहरी, मानवअधिकार क्षेत्रमा क्रियाशिल विभिन्न संस्था, पत्रकार, कानुन ब्यवसायीहरुको सहभागिता रहेको थियो ।