fbpx

मधुवनको त्रिभुवन माविमा बालबालिका केन्द्रित स्वास्थ्य मेला

मधुवनको त्रिभुवन माविमा बालबालिका केन्द्रित स्वास्थ्य मेला


विष्णु अधिकारी, बर्दिया । प्लान नेपाल इन्टरनेशनल नेपाल, कोइका तथा गेरुवा ग्रामिण जागरण संघको साझेदारीमा विद्यालयकमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि मेला संचालन भएको छ । मधुवन नगरपालिका वडा नं. १ त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा बालबालिकालाई स्वास्थ्य सम्बन्धि जनचेतना जगाउने उद्देश्यले मेला आयोजना गरिएको हो ।

मेलामा किशोर किशोरीहरुका प्र्जनन् स्वास्थ्य सम्बन्धि सामाग्री, कोभिडबाट बच्न मास्कको प्रयोग बारेका पर्चा पम्पलेट र बालिकाहरु महिनावारी हुँदा प्रयोग गर्ने एटियम प्याड मेसिन लगायत प्रयोग गरिसकेको प्याडलाई व्यवस्थापन गर्ने मेसिन मेलाको मुख्य आर्कषण रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर के.सी. ले सरकारले गर्नुपर्ने काम सामाजिक संस्थाले गरिदिएर सरकारको काममा हातेमालो गरेकोमा धन्यवाद दिएका छन् । प्रमुख के.सीले विद्यालयमा सुविधा सम्पन्न शौचालय निर्माण गरेर हस्तान्तरण गरेकोमा खुशी व्यक्त गर्दै संरचनालाई कसरी दिगो रुपमा संचालन गर्ने विषयमा आफु चिन्तित भएको बताए ।

बालिकाहरु महिनावारी हुँदा विद्यालय नजाने तथा गएपनि स्वास्थ्य समस्याका कारण स्कुलबाट चाडै घर फर्कने भएकाले विद्यालयमा नै आराम कक्ष र प्याड उपलब्ध भएकाले बालिकाहरु स्कुल आउने क्रम बढ्ने विश्वास व्यक्त गरेका छन् । प्रमुखले समाज परिवर्तनका लागि सबैको हातेमालोबाट मात्र सम्भवा हुने धारणा राख्दै समाज हितको लागि शिक्षामा लगानी आफ्नो प्रमुख उद्देश्य रहेको कुरामा जोड दिएका थिए । कार्यक्रममा त्रिभुवन माध्यमिक विद्यालयका छात्र केशव अधिकारीले विद्यालयमा अध्ययनरत किशोर किशोरी मैत्री कक्षाबाट बढ्दो उमेर सँगै शरिरमा आउने परिवर्तनलाई कसरी सहज रुपमा लिने भन्ने विषयको ज्ञान पाएको चुरेकुञ्जसँग बताए । उनले दौतरी शिक्षा कार्यक्रमले आफ्नो जिवनमा आउने विभिन्न समस्याहरुलाई कसरी पहिचान गर्ने, समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा ज्ञान हासिल भएको बताएका छन् ।

अधिकारीले विद्यालयमा अध्ययनरत बालबालिका लागि अपाङ्गमैत्री शौचालय निर्माण भएकाले शौचालय प्रयोग गर्न सहज हुने विस्वास ब्यक्त गरे । यसैगरि कार्यक्रममा छात्रा सरिता वि.क. ले दौतरी शिक्षा कायक्रम सुरु हुनुभन्दा अघि आफुहरुलाई महिनावारी हुँदा पेट दुखेको भनि विद्यालयबाट घर जाने गरेको र पढाईमा बाधा पुगेको बताईन । उनले अहिले विद्यालयमा दौतरी शिक्षा लागु भएपछि महिनावारी हुँदा विद्यालयका गुरुहरुसँग सहज रुपमा प्याड माग्ने र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि खुलेर कुरा गर्न सक्ने भएको बताउछिन ।

उनले विद्यालयमा नै महिनावारी हुँदा आराम गर्ने कक्ष र प्याड उपलब्ध भएपछि बालिकाहरुको स्कुल आउने क्रम बढ्नुका साथै किशोर किशोरीहरुका लागि प्रजनन स्वास्थ्य सम्बन्धि खुला छलफल हुने गरेको बताएकी छन । यौन तथा प्रजनन स्वास्थ्य मेलामा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ विनय ज्ञवालीले आफ्नो स्वास्थ्यको विषयमा बालबालिकाको मनभित्रको डर हटाउन स्वास्थ्य प्रजनन मेलाले सहयोग पु¥याउने बताएका छन् ।

दौतरी शिक्षाबाट उमेर नपुगी विवाह गर्दा कस्ता किसिमका स्वास्थ्य तथा सामाजिक असरहरु हुन्छ भन्ने बारेमा बालवालिकाहरुलाई सचेत पार्न मद्दत पुगेको छ । आङ्ग खस्ने, गर्भपतन, किशोरावस्थाको जोखिमका विषयमा दौतरी शिक्षाबाट बालबालिकाले के राम्रो के नराम्रो छुट्याउन सक्ने नागरिक बन्न अभिप्रेरित गर्ने, स्वास्थ्य लाभ लिन सक्ने ज्ञवालीले औल्याएका छन् । उनले विद्यालयमा सुविधा सम्पन्न शौचालय, महिनावारी कक्ष, दौतरी कक्ष बनाएर हस्तान्तरण पछि सरोकारवाला निकायले दिगो रुपमा संचालन गर्नको लागि सबैको हातेमालो आवश्यक रहेको बताए ।

विद्यालयका गुरुहरुलाई यौन प्रजननका विषयमा तालिम दिएका कारण खुलेर गुरु र बालबालिका खुलेर कुरा गर्न सक्ने भएकोमा खुशी व्यक्त गरेका छन् । मेलामा सुर्यपटुवा स्वास्थ्य चौकी, गेरुवा ग्रामिण जागरण संघ र त्रिभुवन माध्यमिक विद्यालयले यौन स्वास्थ्य र प्रजनन सम्बन्धि पाठ्यपुस्तक तथा सामाग्रीको स्टलहरु राखेका थिए । कार्यक्रममा विद्यालयका गुरुहरु तथा बालबालिका, सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधि, बडघर, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

तपाइको मत