तिन नाल भरुवा बन्दुकसहित जंगल पसेको आरोपमा पक्राउ
- शनिबार मङ्सिर २५ , २०७८
चुरेकुञ्ज, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज कर्मचारी तथा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले सुर्खेत जिल्लाको मध्यवर्ती चिउरीबाँस क्षेत्रबाट सुर्खेत निवासी ४ जनालाई नियन्त्रणमा लिएको छ । अवैध हातहतियारसहित बन्यजन्तुको चोरी शिकार गर्न प्रवेश गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
निकुञ्जको संयुक्त सुरक्षा गस्तीले सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्वर ५ निवासी २७ बर्षिय लक्ष्मण गिरी, ६२ बर्षिय भद्रबहादुर वली, ५६ बर्षिय ठगबहादुर थापा र २२ बर्षिय ललीत घर्तीलाई नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।
उनीहरुको साथबाट तिन नाल भरुवा बन्दुक, ४१ थान गोली, १ सय ग्राम छर्रा, ३ सय ग्राम बारुद, १५ वटा केप, ४ वटा हँसिया, ३७ थान साईकलको छर्रा, एउटा रेंती र ५ वटा सलाई बरामद भएको छ । बरामद सामाग्रीसहित नियन्त्रित सबैलाई थप अनुसन्धानका लागि निकुञ्ज हिरासतमा राखिएको अधिकृत श्रेष्ठले जानकारी दिए ।