काँग्रेस सभापतिमा शेरबहादुर देउवा, शेखर कोईराला र प्रकाशमान सिंहको उम्मेदवारी (प्यानल अनुसार पदाधिकारी)
- शनिबार मङ्सिर २५ , २०७८
काठमांडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुने चुनावमा सभापति शेरबहादुर देउवा, शेखर कोईराला र प्रकाशमान सिंहको प्यानलले उम्मेदवारी दर्ता गरेका छन् ।
नेपाली कांग्रेसको महाधिवेशनमा विमलेन्द्र निधीले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा कल्याण गुरुङ, युवराज न्यौपानेले पनि उमेदवारी दिएका छन् । काँग्रेसको १४ औं महाधिवेशनको सभापतिको नेतृत्वको लागि ६ जनाको उम्मेदवारी परेको छ ।
उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर देउवाले आफ्नो प्यानल तयार पारेका हुन् । जसमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उपसभापति उम्मेदवार बनेका छन् । महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।
यस्तै सहमहामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलित तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पीछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बनेका छन् ।
शेखर कोइराला प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ, महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दिएका छन् । सहमहामन्त्री देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकृष्ण यादव, तेजुलाल चौधरी र वकिल मियाँ उम्मेदवार बनेका छन् ।
प्रकासमान सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोईरालाले उम्मेदवारी दिएकी हुन् । शेरबहादुर देउवा र शेखर कोइरालाको दुवैमा प्यानलमा नपरेका विश्वप्रकाश शर्माले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन् । शर्मा दुवै समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने चर्चा रहेको थियो ।
कृष्णप्रसाद सिटौलासँग देउवाले गठबन्धन गरेपछि असन्तुष्ट रहेका शर्माको कोइरालाको प्यानलबाट महामन्त्री बन्ने चर्चा सुरु भएको थियो । पहिलेदेखि कोइरालाको प्यानलबाट नै महामन्त्रीको चर्चामा रहेका मिनेन्द्र रिजालले उपसभापति बन्न अस्वीकार गरेपछि शर्माको नाम काटिएको थियो ।