हिमालयन क्रिकेट एकेडेमीले चुम्यो बर्दिया लिगको उपाधी
- बुधबार मङ्सिर २२ , २०७८
चुरेकुञ्ज, बर्दिया । हिमालयन क्रिकेट एकेडेमी काठमांडौले दोस्रो बर्दिया प्रिमियर लिगको उपाधि हात पारेको छ । बर्दियाको गुलरिया स्थित कबर्डहल खेल मैदानमा भएको लिगको फाइनल खेलमा हिमालयनले स्टार क्रिकेट एकेडेमी भैरहवालाई १५ रनले हराउदै उपाधि जितेको छ ।
उपाधी उचालेसँगै च्याम्पियन हिमालयनले १ लाख ११ हजार १ सय ११ र उपविजेता स्टारले ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार हात पारेका छन् । टस जितेर ब्याटिङ रोजेको हिमालयनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १४५ रन जोड्न सफल भएको हो । पहिलो विकेटका लागि दीपक बोहरा र आयुष्मान बमले २५ रनको साझेदारी गरे । कप्तान दिपक बोहराले ११ बलमा ९ रन जोडे । हिमालयनका मिडल अडर ब्याटर पुरण बि.केले ४४ बलमा ३ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिएका हुन् । आयुष्मान बमले २१ बलमा ४ चौका प्रहार गर्दै २५ रन बनाए । हिमालयनले रन आउट मार्फत ३ विकेट गुमाएको थियो ।
स्टारका लेग स्पिनर सुरज खड्काले ३ ओभरमा १८ रन खर्चिएर २ विकेट लिएका थिए । रुपेश बस्याल र पुरु भटराईले १÷१ विकेट लिए । १४६ रनको बलियो लक्ष्य पछ्याएको स्टारको सुरुवात फितलो थियो । पहिलो प्लेमा ४ विकेट गुमाउदै ३० रन जोडेको थियो । ५ औ विकेटका लागि नन्दन यादव र कप्तान विशाल खत्री बिच ६८ रनको साझेदारी गरे । स्टार क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १३० रन बनायो । कप्तान विशाल खत्रीले ३८ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ४५ रनको योगदान दिए । नन्दन यादवले ३७ बलमा २९ रन जोडे ।
प्रतियोगिताको उत्कृष्ट ब्याटर मनिष थापा भए । उनले ५ खेलमा १ सय २९ रन बनाएका थिए । हिमालयनका आयुष्मान बम प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १११ बलमा १५६ रन बनाएका थिए । प्रतियोगिताका उत्कृष्ट बलर नेशनल क्रिकेट एकेडेमीका विशाल पौडेल भए । पौडेलले प्रतियोगिताभर १२ ओभरमा ७४ रन खर्चिएर १० विकेट लिएका थिए । सर्वोत्कृष्ट खेलाडीले रु १० हजार प्राप्त गरे भने उत्कृष्ट ब्यटर र बलरले सम्मान रु ५ हजार प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा देशैभरका ८ टोलीको सहभागिता थियो । खेल नयाँशिरा क्रिकेट क्लव बर्दियाले आयोजना गरेको हो ।