स्टार क्रिकेट एकेडेमी (भैरहवा) र हिमालयन क्रिकेट एकेडेमी (काठमाडौ) बर्दिया प्रिमियर लिगको फाइनलमा
- सोमबार मङ्सिर २० , २०७८
दीपकलाल श्रेष्ठ, बर्दिया । बर्दिया प्रिमियर लिग अन्तर्गत सोमबार भएको सेमिफाइनल खेलमा स्टार क्रिकेट एकेडमी (भैरहवा) र हिमालयन क्रिकेट एकेडेमी (काठमाडौं) विजयी हुदै फाइनलमा प्रवेश गरेका छन । पहिलो सेमी फाइनल खेलमा हिमालयन क्रिकेटले बाँके ११ क्रिकेट टिमलाई ५ विकेटको जित निकाल्दै फाइनलमा पुगेको छ ।
समुह ए को विजेता बन्दै बाँके ११ क्रिकेट टिम सेमी फाइनलमा आएको थियो भने समुह बी को उपविजेता बन्दै हिमालयन क्रिकेट एकेडमी सेमी फाइनलमा पुगेको छ । खराब मौसममा कारण खेल १५ /१५ ओभरको मात्रै भएको थियो । गुलरियाको कभर्डहाल खेल मैदानमा टस जितेर ब्याटिङ रोजेको बाँके ११ ले निर्धारित १५ ओभरमा १२५ रन जोड्दै सबै विकेट गुमाएको थियो ।
बाँके ११ को सुरुवात फितलो भएता पनि सोम शर्मा र अमर सिंह रौटेलाले रन जोड्दा बाँके ११ ले चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । बाँके ११ का मिडिल अर्डरका ब्याट्सम्यान सोम शर्माले १८ बलमा २७ रन जोडे । साथै अमरले १५ बलमा ३० रन प्रहार गरे । अमरले ३ चौका र २ छक्का प्रहार गरेका थिए । हिमालयनका तिब्र गतिका बलर सगर भण्डारीले ३ ओभरमा मात्र १५ रन खर्चिएर २ विकेट लिए । हिमालयनका सुभाष खत्रीले ३ ओभरमा १६ रन खर्चिएर २ विकेट लिए । साथै दिपक चन्द र सन्दीप शाहीले समान १ /१ विकेट लिए ।
१२६ रन चुनौतिपूर्ण लक्ष्य लिएर ब्याटिङ गर्न आएको हिमालयनका ओपनर ब्याट्सम्यान आयुष्मान बम र दिपक बोहराले सानदार ब्याटिङ गर्दा ७८ रनको साझेदारी भएको थियो । आयुष्मान बमले २८ बलमा ४५ रन बनाउदै राहुलको बलमा आउट भए । बमले ५ चौका प्रहार गरेका थिए । हिमालयनले कप्तान दीपक बोहरालाई ६० रनमा गुमायो । बोहोराले ४० बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । हिमालयन लाई अन्तिम २ ओभरमा १४ रन आवश्यक थियो ।
सागर भण्डारीले १३ औ ओभरको अन्तिम बलमा ४ रन प्रहार गर्दा अन्तिम ओभरमा हिमालयनलाई ६ बलमा ६ रन आवश्यक भएको थियो । अन्तिम बलमा १ रन आवश्यकमा सागरले सहजै रन बटुल्दै हिमालयन फाइनलमा प्रवेश गर्यो । बाँके ११ का राहुल शर्माले ३ ओभरमा १६ रन खर्चिएर २ विकेट लिए । बाँकेले २ विकेट रन आउट मार्फत हात पारेको थियो । खेलको म्यान अफ द म्याच हिमालयन क्रिकेट एकेडेमीका दीपक बोहरा भए ।
सोमबार दोस्रो सेमी फाइनलमा स्टार क्रिकेट एकेडेमी र नेशनल क्रिकेट एकेडेमी बिच भएको खेलमा स्टार क्रिकेट एकेडेमी २१ रनको जित निकाल्दै फाइनल प्रवेश गरेको छ । टस जितेर ब्याटिङ रोजेको स्टार क्रिकेट एकेडेमीले १४.३ ओभरमा अल आउट हुदै ८३ रन जोडेको थियो । स्टार एकेडेमीका मनिष थापा र नन्दन यादवले बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शनको भने सम्झन लायक रहेन । स्टार एकेडेमीका ओपनर ब्याट्सम्यान मनिष थापाले १८ बलमा २१ रन जोडे । थापाले १ छक्का र २ चौका प्रहार गरे । नन्दन यादवले १३ बलमा १५ रन प्रहार गरे । यादवले १ चौका र १ छक्का प्रहार गरे ।
स्टार एकेडेमीको ब्याटिङलाई धराप पार्न नेशनल एकेडेमीका स्पिनर शंकर रानाले ३ ओभरमा मात्र ११ रन खर्चिएर ३ विकेट लिए, साथै तिब्र गतिका बलर जितेन्द्र साहनीले २.३ ओभरमा २४ रन खर्चिएर ३ विकेट लिए । अर्का स्पिनर बिशाल पौडेलले २ विकेट हात पारे । साथै लेग स्पिनर करण बि.केले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चिएर १ विकेट लिए ।
८४ रनको लक्ष्य लिएर मैदान आएको नेशनल एकेडेमी ७ ओभरमा २ विकेट गुमाउदै मात्र २३ रन मात्र जोडेको थियो । नेशनल एकेडेमी १३.३ ओभरमा ६३ रन जोड्दै समेटियो । नेशनल एकेडेमीका शंकर रानाले १४ रन जोडे साथै सुबाश बि. केले ५ बलमा १२ रन जोडे । अन्य ब्याट्सम्यानको भने सम्झन लायक प्रदर्शन रहेन ।
नेशनल एकेडेमीको ब्याटिङलाई धराप पार्न स्पिनर पुरु भटराईले ३ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए । साथै सुरज खड्का र रुपेश भुसालले सम्मान २ ÷२ विकेट लिए । खेलको म्यान अफ द म्याचको पुरस्कार नेशनल क्रिकेट एकेडेमीलाई कम रनमा समेट्न उत्कृष्ट प्रदर्शन गरेका स्टार क्रिकेट एकेडेमीका पुरु भट्टराई भए ।
मंगलबार फाइनलमा स्टार क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमी बिच हुनेछ । प्रिमियर लिग क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रूपैयाँ पुरस्कार पाउनेछ । त्यसैगरी दोस्रो हुने टिमले ५१ हजार १ सय ११ रूपैयाँ पुरस्कार पाउने आयोजक नया शिरा क्लबका अध्यक्ष प्रमोद चन्दले बताए ।