जिविकोपार्जनमा भूमिका खेल्दै सानाकिसान सहकारी
- आइतबार मङ्सिर १९ , २०७८
चुरेकुञ्ज, मधुवन । बर्दियाको मधुवन नगरपालिका ८ मा रहेको सानोश्री साना किसान कृषि सहकारी संस्था लिमिटेडको २० औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बार्षिक साधारण सभाको उद्घाटन प्रमुख अतिथी एवं लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य कुलप्रसाद पोखरेल गर्नुभएको छ ।
बार्षिक साधारण सभाको उद्घाटन गर्दै पोखरेलले सानाकिसान सहकारी संस्थाले कृषकहरुको जिविकोपार्जनमा महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । साहु महाजनको प्रथालाई चुनौती दिँदै सानाकिसानले सहुलियत दरमा ऋण उपलब्ध गराउने प्रथा बसालेको बताउनु भयो । उहाँले अब सानाकिसानले पुरानो तरिकाले बचत तथा ऋणमा काम गर्नु भन्दा पनि उत्पादन मुखि काम गर्नुपर्ने बताउनु भयो । उहाँले अब संस्थाको मात्र नभएर सम्पुर्ण शेयर सदस्यहरुको आयस्तरमा वृद्धि हुनुपर्ने बताउनु भयो ।
साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै प्रदेश सभा सदस्य पोखरेलले कृषकहरुको हितमा र उनीहरुको प्रगती हुने खालका नीति तथा कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो । कार्यक्रमका विशेष अतिथि राष्ट्रिय सहकारी महासंघका केन्द्रिय सदस्य लक्ष्मी प्रसाद शर्माले हाल सहकारीहरु आफ्नो भवन, भौतिक सम्पती देखाउने र जोड्ने प्रतिस्पर्धामा रहेको बताउनु भयो । उहाँले सहकारीको आफ्नो प्रगती मात्र नभएर शेयर सदस्यहरुको स्तर उकास्न तर्फ लाग्नु पर्ने बताउनु भयो । गरिब जनताको अवस्था सुधार गर्नका लागि सहकारी संस्थाहरुको अहम भुमिका रहेको बताउँदै सहकारीहरु अब उद्यमशिल हुन जरुरी रहेको बताउनु भयो ।
विशेष अतिथी सानाकिसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका इलाका प्रबन्धक शेरबहादुर चौधरीले सहकारीको महिला सहभागीताको प्रशंसा गर्दै सञ्चालक समितिमा महिला सहभागीता अझै बढाउनु पर्ने बताउनु भयो । मधुवन नगरपालिका वडा न ६ का वडाध्यक्ष भक्तबहादुर सुनारले कृषकहरुको अवस्था सुधारका लागि सहकारीको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । उहाँले अझै पनि कृषकहरु व्यवसायीक बन्नुपर्ने बताउनु भयो । सानाकिसानले कृषकहरुलाई व्यवसायीक बनाउने खालका नीति तथा कार्यक्रम ल्याउनु पर्ने वडाध्यक्ष सुनारले बताउनु भयो ।
साधारण सभाको उद्घाटनशत्रमा एसइई परिक्षामा उत्कृष्ट जिपिए ल्याई उतिर्ण भएका ५ जना विद्यार्थीहरुलाई नगद पुरुस्कार, प्रमाणपत्र सहित सम्मान गरीएको थियो । त्यसैगरी ८० बर्ष पुरा भएका तिन जना जेष्ठ शेयर सदस्यहरुलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरीएको थियो । साधारणसभामा सानाकिसान कृषि सहकारी संस्था अन्र्तगतका समुहहरुको प्रतिनीधित्व गर्दै तिन सय ५२ जना प्रतिनीधिहरुको उपस्थीती रहेको थियो । सहकारीमा २ हजार ७ सय ८ जना शेयर सदस्य रहेका छन् । जसमा एक हजार ८ यि ४५ जना महिला र ८ सय ४५ जना पुरुष रहेका छन् । सस्थाको हाल सम्मको शेयर पुँजी ४ करोड३५ लाख ६८ हजार रहेको छ भने निक्षेप रकम १९ करोड ९८ लाख ८९ हजार रहेको छ ।