नेपाली काँग्रेस बर्दियाको सभापतिका उम्मेदवारहरु सार्वजनिक
- शनिबार मङ्सिर ११ , २०७८
चुरेकुञ्ज, गुलरिया । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत जिल्ला कार्यसमितिको सभापति पदका उम्मेदवारहरुको नाम घोषणा गरिएको छ । काँग्रेस संस्थापन तथा संस्थापन इतर दुवै समूहबाट सभापति पदका उम्मेदवारहरुको नाम सार्वजनिक गरिएको हो ।
संस्थापन समूहबाट सभापति पदमा अरुण प्रकाश सिंह राठोर र इतर समूहबाट भुवनेश्वर थारुको नाम सार्वजनिक गरिएको छ । राठोर र थारु दुवै नेपाली काँग्रेस पार्टीमा लोकतन्त्र स्थापित गर्नका लागि विद्यार्थी जिवनदेखि संघर्षगर्दै आएका नेता हुन् । नेपाली काँग्रेसका पूर्व सभापति समेत रहेका राठोर संघीय क्षेत्र नम्वर २ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा विजय हाँसील गरेका हुन् । शालिन एवम् भद्र स्वभाव भएका राठोर कार्यकर्ताविच लोकप्रिय मानिन्छन् ।
संस्थापन इतर पक्षबाट सभापति पदका दावेदार थारु बर्दिया संघीय क्षेत्र नम्वर १ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएका हुन् । विद्यार्थी राजनितिसँगै दुईपटक गाउँ विकास समितिको अध्यक्ष भैसकेका उनी राजनितिमा अनुभवी मानिन्छन् । थारु लुम्विनी प्रदेसका सांसद हुन् । स्वर्गीय राधाकृष्ण थारु बर्दिया जिल्लाको पार्टी सभापति भएको दशकौंपछि थारु समुदायको ब्यक्तीले काँग्रेस जिल्ला सभापति पदमा मनोनयन दर्ता गर्ने अवसर पाएका हुन् । थारु पनि शालिन एवम् भद्र स्वभाव भएका नेता मानिन्छन् ।