fbpx

नेपालमा बार्षिक ३ हजार कुष्ठरोगका बिरामी : आई.एन.एफ.

नेपालमा बार्षिक ३ हजार कुष्ठरोगका बिरामी : आई.एन.एफ.


विष्णु अधिकारी, बर्दिया । कुष्ठरोग तथा हात्तिपाईले रोगका बारेमा बर्दियाका संचारकर्मीहरुलाई साईनिङ्ग अस्पताल आई.एन.एफ. नेपालले अन्तरक्रिया गरेको छ । पत्रकारहरुलाई रोगका बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको हो ।

कुष्ठरोग उपचार नगरेका व्यक्तिसँग लामो समय सम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वास प्रश्वासको माध्यमबाट रोग सर्ने साइनिङ्ग अस्पताल बाँकेका अस्पताल इन्चार्ज मंगल बहादुर थारुले बताए । कुष्ठरोग लागेका व्यक्तिमा छाला रातो वा फुस्रो रंगको दाग आएमा आँखीभौ झरेमा वा पातलो भएमा, नाक थेप्चो हुदै गएको जस्ता लक्षण देखिएमा साईनिङ्ग अस्पालमा निर्धक्क भएर उपचारका लागि आउन आग्रह गरेका छन् । थारुले कुष्ठरोगको समयमा उपचार नगरेमा किटाणुले छाला तथा खास गरेर हात, खुट्टा र अनुहारका सतहमा नशाहरुमा असर गर्ने हुँदा औंला खुम्चने र पछि अपाङ्गता हुन सक्ने बताए ।

परिवार तथा समुदायमा रोग फैलिने भएकाले समयमा उपचार गर्न सल्लाह दिएका छन् । कुष्ठरोगका विरामीहरुका लागि प्रयोग गर्ने औषधिहरु अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य शाखाले प्रेषण गरेका केन्द्रहरुमा निशुल्क पाइने भएकाले विशेष गरि रोगको अवस्था हेरेर ६ महिना देखि २४ महिना सम्म नियमित औषधि सेवन गरेमा रोगबाट पुर्ण रुपमा मुक्त हुने उनको भनाई छ । नेपालमा बार्षिक रुपमा सरदर ३ हजारको हाराहारीमा नयाँ कुष्ठ रोगीहरु भेटिने गरेको आइ.एन.एफ नेपाल बाँकेले जनाएको छ । सन २०३० सम्ममा नेपाललाई कुष्ठरोग उन्मुलन देशमा उभ्याउने नेपाल सरकारको नितिलाई सबैले सहयोग गर्नुपर्नेमा कार्यक्रममा जोड दिईएको थियो ।

तपाइको मत