नेपालगञ्जमा चक्कु देखाएर बलात्कारको प्रयास
- मंगलबार माघ २७ , २०७७
नेपालगन्ज । बाँकेमा एक १५ वर्षीया छात्रामाथि विद्यालयबाट फर्कँदै गर्दा होटलमा लगेर बलात्कारको प्रयास भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्ने छात्रा घर फर्कंदै गर्दा स्थानीय युवाले आफूसँग नगए चक्कु देखाएर मार्ने धम्की दिँदै नेपालगन्ज बसपार्कस्थित एक होटलमा लगेर बलात्कारको प्रयास गरेकोपीडित परिवारले जनाएको छ ।
‘केही बोलिस् भने तँलाई मारिदिन्छु। चुप लागेर मसँग हिड् भन्दै होटलसम्म लग्यो। बलात्कार गर्न नसकेपछि ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेको हो’, आफन्तले भने, ‘मुख, ओठ र घाँटीमा जुत्ता र मुड्की प्रहार भएको छ। घटनाको ४ दिनसम्म पनि मुखमा जुत्ताको डाँम नै थियो। डोरीले घाँटी कसेर, नाक, कान र मुख नाकबाट रगत आएपछिअचेत अवस्थामा म¥यो भनेर केटा भागेको छ ।’
घटना १६ माघ दिउँसोको हो। तीन दिन अघि छात्राकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दिएपछि मात्र घटना सार्वजनिक भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँटका प्रहरी निरीक्षक इन्द्रदेव गिरीले पीडित छात्राकी आमाले जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको बताए ।
अभियुक्त फरार रहेकाले खोजी गरिरहेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई भेरी अस्पतालमा उपचार गरेर अहिले एउटा गैरसरकारी संस्थाको सेल्टरमा राखिएको छ।