fbpx

बर्दियामा उपचारका नाममा बालिका बलात्कार गर्ने बृद्ध पक्राउ

बर्दियामा उपचारका नाममा बालिका बलात्कार गर्ने बृद्ध पक्राउ

मुरली गोडिया, गुलरिया । बर्दियामा उपचार गरि दिने भन्दै नाबालिका माथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले राजापुर नगरपालिका वडा नम्बर ९ भीमापुरबाट ७२ वर्षीय वृद्धलाई पक्राउ गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

बृद्धलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो । उपचार गराउन उनको घरमा आएकी १४ वर्षीया बालिकामाथि मंगलबार बलात्कार गरेको आरोप छ । बिहान करिब १० बजे घरमा बालिकामाथि बलात्कार गर्दै गरेको अवस्थामा अर्का उपचार गराउन आएका व्यक्तिले देखेपछि वृद्ध भागेका थिए । उनी भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको कार्कीले बताए ।

उनका अनुसार पीडित बालिका त्यहाँ एक वर्षदेखि उपचार गराउन जान्थिन । उनलाई मृगी रोग थियो । प्रहरीले पक्राउ गरी गरेको अनुसन्धानबाट उनले जडिबुटीको उपचार गराउने काम १५ वर्ष अघि गरेका थिए । यो काम गर्नु अघि उनी गाउँघरमै ज्याला मजदुरी तथा मिस्त्रिको काम गर्ने गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

उनले त्यहाँ १५ वर्षदेखि आफ्नै घरमा मृगी रोग, पिनास, टाउको दुख्ने, सर्पले टोकेको व्यक्तिलाई जडिबुटीबाट उपचार गर्दै आएका थिए । तर उनलाई जडिबुटी संबन्धी औपचारिक अध्ययन नभएको प्रहरीले जनाएको छ । उनले एकपटकको सर्पले टोकेको ५ हजार, पिनासको ५ हजार र मृगीको ८ हजार लिने गरेका थिए । त्यस्तै उनले बिरामी पनि मंगलबार मात्रै भेट्थे प्रहरी प्रमुख कार्कीले भने । उनीबाट कोही पीडित भएको भए प्रहरीको सम्पर्कमा आउन जिल्ला प्रहरी कार्यालय बर्दियाले अनुरोध गरेको छ । वृद्ध आफ्नी दुई जना श्रीमतीसँग सोही घरमा बस्दै आएका थिए ।

तपाइको मत