कलिलै उमेरमा बच्चा जन्माउने किशोरीहरुमा स्वास्थ्य समस्या
- सोमबार कार्तिक २९ , २०७८
विष्णु अधिकारी, गुलरिया । कलिलै उमेरमा बच्चा जन्माउने किशोरीहरुको शारिरिक अवस्था कमजोर हुने गरेको पाईएको छ । पोषणयुक्त खानेकुराको अभाव महिला प्रजनन अंगको पुर्ण रुपमा विकास नहुनु जस्ता कारणले शारिरिक कमजोरी तथा स्वास्थ्य समस्या देखिने भएकाले २० बर्ष पुरा भएपछि मात्र विवाह गर्नु पर्ने प्रावधान छ ।
बालविवाह गर्नु हुदैन । नेपालमा १५ बर्ष देखि १९ बर्षका ४ दशमलव ५८ प्रतिशत युवाहरु विवाहित छन् भने युवतीहरु १८ प्रतिशत रहेको तथ्याङ्क छ । किशोर–किशोरीहरुलाई आफै निर्णय लिने र नेतृत्व गर्ने क्षमताको विकासका लागि बर्दियामा परियोजना संचालन भएको छ । नेतृत्व र निर्णय गर्ने परियोजना बर्दियाको मधुवन र बारबर्दियामा संचालनमा रहेको बी ग्रुप बर्दियाले संचारकर्मीहरुसँगको अन्तरक्रियामा बताएको छ ।
कार्यक्रममा प्रत्येक महिला तथा किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि शिक्षा, सूचना, मनोपरामर्श तथा सेवा प्राप्त गर्ने अधिकार ऐनमा उल्लेख रहेको कुरा प्रकाश पारिएको छ । महिलाहरुलाई आकस्मिक प्रसुति सेवा, वृहत आकस्मिक सेवा, नजजात शिशुका लागि अत्यावश्यक सेवा अत्यावश्यक सेवा पाउने अधिकार रहेको कार्यक्रमका सहजकर्ता जनस्वास्थ्य निरिक्षक कृष्ण गोपाल चौधरीले बताए ।
अन्तरक्रिया कार्यक्रममा महिलाहरुलाई विवाह गर्ने, नगर्ने तथा परिवार बसाउने नबसाउने निर्णय गर्ने अधिकार महिलालाई भएको हुनाले उमेर पुगिसकेका महिलाहरुको अधिकार रक्षा गर्नुपर्ने जानकारी दिइएको थियो । नेपालमा अज्ञानता, गरिबी र अशिक्षा कै कारण सानै उमेरमा विवाह गर्ने, धेरै बच्चा जन्माउने कारणले गर्दा स्वास्थ्य, पोषण तथा मानसिक स्थिती दयनिय भएको बताईएको छ ।
किशोर किशोरीमा खास गरि परिक्षामा अनुत्तिर्ण हुनु, घरमा, विद्यालयमा वा साथी भाईहरुसँग सही व्यवहार नपाउनु जस्ता कारणले मानसिक स्वास्थ्यमा असर गर्ने गरेको सहजकर्ता चौधरीले औल्याएका छन् । नेतृत्व र निर्णय गर्ने क्षमता परियोजना प्लान नेपालको सहयोग तथा स्वास्थ्य कार्यालय बर्दियाको समन्वयमा बी ग्रुप बाँकेले आयोजना गरेको हो । कार्यक्रममा सरोकारवाला तथा संचारकर्मीहरुको उपस्थिती रहको थियो ।