fbpx

बिषादी रहित खाद्यान्न उत्पादनगर्दै नेपाल खाद्य बैंक

बिषादी रहित खाद्यान्न उत्पादनगर्दै नेपाल खाद्य बैंक

मुरली गोडिया, गुलरिया । बर्दियाको गुलरियामा स्थापना भएको राष्ट्रिय खाद्य बैकले कृषिलाई आधुनिक प्रणालीलाई आधार बनाएर रैथाने जातको धान खेती विस्तार गर्ने योजना अघि सारेको छ । पोषिलो आहारको लागि दीगो कृषि उत्पादनको अभियान मार्फत विभिन्न बालीलाई समेट्दै जाने बैकले जनाएको छ ।

कृषकका लागी गाँउमै राष्ट्रिय खाद्य बैंक लिमिटेड खुलेपछि कृषकहरु आर्गनिक खेती तर्फ हौसिएका छन । पोषिलो आहारको लागि दीगो कृषि उत्पादनको अभियान मार्फत गाउँमै बैंक आएपछि कृषक थप हौसिएका हुन । विभिन्न उत्पादनमा जोड दिई छरिएर रहेको कृषी क्षेत्रलाई एकीकृत गरि कृषकको आयस्तरमा समेत बृद्धि गर्न शुरु गरिएको छ । नयाँ नयाँ जातका हरेक बाली तथा तरकारी बाली, पशुपंक्षि लगायत कृषी जन्य उपजसंग किसानलाई जोडे पछि कृषकलाई कृषी पेशामा थप आकर्षित गरेको गुलरिया खैरीका कृषक पशुपति पाठकले बताए ।

कृषिको आधुनिक प्रणालीलाई आधार बनाएर रैथाने जातको धान खेती विस्तार गर्ने योजना वैंकले अघि सारेको छ । २२ जिल्लामा माटो परीक्षण गरेर आधुनिक खेती गरिरहेको खाद्य बैंकले गुलरियामा पनि रैथाने धान खेती विस्तार शुरु गरेको छ । विभिन्न अन्नबाली तथा पशुपंक्षि उत्पादन बृद्धिका लागी एजोला नामक बनस्पतिलाई समेत जोड दिइएको छ । कृषी तथा पशुजन्य उत्पादनलाई थप बृद्धि गर्न एजोलालाई पनि विस्तार गरिएको वनस्पति विज्ञ प्राध्यापक डाक्टर मोहन प्रसाद पन्थीले बताए । बाह्रै महिना उत्पादन गरि कृषीबाली तथा पशुपन्छिको आहाराका लागी प्रयोग गर्न गर्न सके कृषकले बढी लाभान्वित हुने उनको तर्क छ ।

पहिलो चरणमा ७ किसिमका रैथाने जातका धानको बिउ रोपेर बर्दियामा २५ बिगाहामा सुरु गरेको छ । स्थानिय र स्वदेशमा खपत भई बचेको खाद्यान्न निर्यात गर्ने समेत बैंकको लक्ष्य छ । माछा, मासु, दुध, तरकारी लगायत खाद्यान्नमा आत्मनिर्भर बनाउने योजना अनुरुप बैंकले काम गर्ने जनाइएको छ । पाईलट प्रोजेक्टको रुपमा किसानसँग मिलेर कृषिमा आत्मनिर्भर गराएर देशको अर्थतन्त्रमा टेवा पुर्याउने अर्को लक्ष्य राखिएको बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले प्रष्ट्याए ।

कृषि, खाद्य र पर्यटन क्षेत्रमा लक्षित गर्दै समृद्ध नेपाल बनाउने योजना रहेको उनको भनाई छ । सात वटै प्रदेशमा कार्यालय स्थापना गर्दै ७७ वटै जिल्लामा खाद्य बैंक संचालन गर्ने तयारी गरिएको छ । बैंकले उत्पादन गर्ने वस्तु वा खानेकुरा पूर्ण रुपमा अर्गानिक र प्राकृतिक खानेकुरा उत्पादन गर्नेछ । बैंकले नमूनाको रुपमा हाँसपालन पनि गरेको छ । हाँसको माग भएमा बिदेशमा निर्यात गर्ने योजना समेत रहेको छ । कृषिको क्षेत्र विस्तार् गर्दै विषादी रहित उत्पादन मार्फत रासायनहरुको प्रयोगलाई विस्थापित गर्ने मनशाय राखिएको जनाइएको छ ।

तपाइको मत