fbpx

नेपालगञ्ज मेडीकल कलेजका स्वास्थ्यकर्मी आन्दोलित

नेपालगञ्ज मेडीकल कलेजका स्वास्थ्यकर्मी आन्दोलित

यादव आचार्य, कोहलपुर (बाँके) । नेपालगञ्ज मेडीकल कलेज प्राविधिक अस्पताल कोहलपुर (लर्डवुद्ध एजुकेशनल एकेडेमी लि.) बाँकेका स्वास्थ्यकर्मी लगायत कर्मचारीहरुको आन्दोलन लम्बिएको छ । एक साता अघिदेखि शुरु गरिएको आन्दोलनको ब्यवस्थापन पक्षसँग गरिएको बार्ता नमिलेपछि लम्बिएको हो ।

कर्मचारीहरुले एकेडेमीको मूल गेटमा ब्यानर राखी वहिरंग सेवा बन्दगर्दै हातमा कालोपट्टी बाँधेर आन्दोलन गरेका छन् । प्राईभेट क्षेत्रबाट संचालित पश्चिम नेपालकै केन्द्रविन्दु मानिने स्वास्थ्य संस्थामा आन्दोलनका कारण वहिरंग सेवा प्रवाह नहुँदा यस क्षेत्रका स्थानियहरु ईमरजेन्सी बाहेकका स्वास्थ्य सेवा पाउनबाट बञ्चित छन् । ब्यवस्थापन पक्षले आफूहरुको मागप्रति वेवास्ता गरेको आन्दोलित कर्मचारीहरुले बताउँदै आएका छन् ।

लर्डवुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको संयुक्त नेतृत्वमा स्वास्थ्यकर्मी लगायत कर्मचारीहरुले आन्दोलन गरेको कर्मचारी संघका केन्द्रिय सभापति एवं आन्दोलन परिचालन समितिका संयोजक यमबहादुर खड्काले बताए । महंगिँदै गएको बजारको अवस्थालाई मध्यनजरगर्दै कर्मचारीहरुको पिरमर्का एवं समस्यालाई बुझि समय सापेक्ष रुपमा तलबभत्ता लगायतका सेबवा सुविधाहरु बृद्धि लगायतका मागहरु हामीले राख्दै आएका छौं ।

चार बर्षदेखि मागगरेपनि ब्यवस्थापन पक्षले कुनै सुनुवाई नगर्दा बाध्यात्मक आन्दोलनमा उत्रिएका हौं । हामीले जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा ब्यवस्थापन लगायत सरोकारवाला पक्षहरुसँग बार्तामा बस्यौ तर सफल भएन । हामीले सेवा बन्द गरेर बाध्यतावस आन्दोलन गर्नु परेको छ । आन्दोलनका कारण सेवाग्राही मर्कामा छन् तर ब्यवस्थापन पक्ष सुल्झाउन तर्फ लागेको पाएनौं । हाम्रा उचित मागहरु पूरा नभएसम्म हामी आन्दोलनलाई निरन्तरता दिन्छौं खड्काले भने । एकेडेमीमा आबद्ध १४ सय कर्मचारीहरुको हामीलाई ऐक्यवद्धता छ ।

अस्पतालका कर्मचारीहरुको माग अनुसार पटक पटक बार्तामा बसेको लर्डवुद्ध एजुकेशनल एकेडेमी लि. बाँकेका प्रवन्ध संचालक डाक्टर सुरेश कुमार कनोडियाले बताए । कर्मचारीहरुले सेवा सुविधा माग गर्ने अधिकार छ तर संस्थाको वास्तविकतामा जानुपर्छ । संस्था फाईदामा रहे सेवा सुविधा बृद्धि गर्ने हो । कोभिडका कारण अस्पताल धेरै घाटामा छ । अस्पतालले कोभिडका बेला पीपीई, मास्क, सेनिटाईजर लगायतका सामाग्री खरिदमा धेरै खर्च भएको छ । उनले भने संस्थालाई अफ्ठेरो परेको बेलामा सबै मिलेर काम गरौं । संस्था फाईदामा गए सेवा सुविधा बढीहाल्छ ।

देशैभरका प्राईभेट अस्पतालले दिएको सुविधामा हाम्रो कुनै कमि छैन । ०७५ सालपछि बोनस पनि दिएकै छौं । यतिखेर अस्पताल घाटामा गएकाले हामीलाई चुनौती छ । कोभिडपछि विद्यार्थी भर्नाहरु पनि कमी छ । यतिखेर सबैले सहयोग गरे आउँदो बर्षमा फाईदा बढेसँगै मागहरु विस्तारै सम्वोधन हुँदै जान्छन् । चिन्ता लिनु पर्दैन । कनोडियाले थपे अस्पताललाई सवैले अपनत्व ग्रहण गरी धैर्यता गरे पक्कै कुनैदिन फाईदामा पुग्छ अनि कर्मचारीका सबै मागहरु सम्वोधन हुन्छन् । मैले वार्ता समितिलाई पूर्ण अधिकार दिएको छु । छलफल गरी समस्या समाधान गरौं कनोडियाले भने ।

कर्मचारी संघ संगठनमा आवद्ध सबै कर्मचारीको संयुक्त मागहरु छन् अस्पताल कर्मचारी संघकी उपाध्यक्ष अञ्जु न्यौपानेले भनिन् । तलब तथा भत्ता, दरबन्दी सिर्जना, पदपुर्ती र बढुवा, अवकाश, उपदान, बीमा सामाजिक सुरक्षा कोष र शेयर, स्वास्थ्य उपचार खर्च एवं सेवा सुविधा, हाजिरी, विदा, अध्ययन एवं तालिम, संस्थागत सुधार लगायतका विविध हाम्रा मागहरु छन् । लेवर रुपमा कार्यरत कर्मचारीहरुलाई नेपाल सरकारले प्रदान गरेको आमा सुरक्षा कार्यक्रम अनुसारको सुत्केरी गराए बापत पाउनुपर्ने भत्ता समेत पाउँदैनन् ।

अस्पतालमा आईसीयू, बेड चार्ज लगायत विभिन्न शुल्कहरु महँगीका कारण बृद्धि भएका छन् तर हाम्रो तलव ५ बर्षदेखि पुरानै छ एकेडेमीमा कार्यरत सिनियर स्वास्थ्य सहायक प्रेम वि.कले भने । कोभिडमा ड्युटी गर्ने सबै कर्मचारीहरुले नेपाल सरकारले कायम गरे अनुसार ०७७ चैत्र महिना देखिको कोभिड भत्ता पनि पाएका छैनौं । रात्रीकालिन खाजा भत्ता सबैले पाउँदैनन् पाउनेको पनि समय सापेक्ष नभएको विकको भनाई छ ।

मेडीकल कलेज कोहलपुरमा आन्दोलित कर्मचारीहरु तस्विर : यादव आचार्य

तपाइको मत