द्वन्दपिडितको सहयोगको मागगर्दै बढैयातालमा ज्ञापनपत्र
- सोमबार कार्तिक ८ , २०७८
मानबहादुर चौधरी, बर्दिया । द्वन्दपिडित परिवारको आर्थिक शसक्तिकरणका लागि पालिकाले ब्यवसायिक योजना बनाउन मागगर्दै बढैयाताल गाउँपालिकामा ज्ञापनपत्र वुझाईएको छ । संक्रमणकालिन न्यायका लागि जिल्ला संजाल बर्दियाकी सदस्य मगती थारुले पिडितहरुलाई सहयोगको लागि ज्ञापन पत्र वुझाएकी हुन् ।
द्वन्द्वपीडतहरुको स्वरोजगारका लागि स्थानीय सरकारको भूमिका विषयक संवाद बढैयाताल गाउँपालिकामा सम्पन्न भएको छ । संवाद कार्यक्रममा मन्तव्य राख्दै बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले पालिका पीडितहरुको सवालमा सधै गम्भिर रहेको बताए ।
द्वन्द्वपीडित संजाल मार्फत पीडितहरुको स्वरोगार, क्षमता विकासका सवालमा कार्य गरिरहेकोले आगामी दिनमा शहीद र बेपत्ता परिवारका युवाहरुको सीप विकास तालिम र आयआर्जनका लागि प्राथमिकताका साथ सहभागी गराउने प्रतिवद्धता ब्यक्त गरे । गाउँपालिकामा वडा मार्पmत योजनाहरु ल्याउने कार्यविधि भएकाले पीडित, संगठन, सामाजिक संस्थाहरुले योजना तर्जुमा प्रक्रियामा सहभागिता जनाएर सहजीकरण गर्नसके साना ठुला योजना समायोजन गर्न सकिने विश्वास दिलाए । आगामी कार्यक्रमहरुमा द्वन्द्व पीडितहरुलाई अनिवार्य कोटा छुट्याएर विकास र सेवा उपलव्धतामा समावेश गर्ने जानकारी गराए ।
संक्रमकालीन न्यायका लागि जिल्ला संजालका संयोजक भागिराम चौधरीले पालिकाले नीतिगत निर्णयका लागि गरेको पहल प्रशंसनिय रहेको र पीडितहरुको परिपुरणको क्षेत्रमा पालिकाले ठोस नीति र योजना बनाओस् भन्ने पीडितले चाहेको बताए । एफडब्लुएलडिका संयोजक सुशील चौधरीले पीडितहरुको आर्थिक विकास र सशक्तिकरणका लागि सरोकारवालाहरुसंग समन्वय र सहकार्य गर्नसके सहज हुने आवश्यकता औल्याए । तालिमका सहभागी जुबेर थारुले लैगिक तथा आर्थिक सशक्तिकरण तालिमबाट सिकेका कुराहरु सुनाएका थिए ।
यसका साथै थारुले पीडित परिवारले बनाएको व्यवसायिक योजनाका लागि सहयोग गर्न समेत अनुरोध गरे ।
इन्टरनेशनल अलर्टको सहयोगमा संचालित परिवार केन्द्रित कार्यक्रम अन्तर्गत संचालित उक्त कार्यक्रममा दस दिने लैंगिक संवेदनशीलता र ५ दिने आर्थिक सशक्तिकरण तालिममा बढैयाताल गाउँपालिका वडा नं ५ मा अवस्थित द्वन्द्वकालमा अतिप्रभावित जगतिया गाउँका १० घर परिवारका ३० जना सहभागी छनौट गरी तालिम दिइएको थियो । तालिममा प्रत्येक घरले आफ्नो व्यवसायिक योजना बनाएर प्रस्तावनापत्र तयार गरेर एफडब्लुएलडिलाई पठाएका छन् ।
यसका साथै गाउँपालिका लगायत अन्य वित्तिय संस्थासंग पनि आर्थिक सहयोग र लगानी श्रोतको अपेक्षा गरिरहेको सहभागी मगति थारुले बताइन् । भौतिक सहयोगका रुपमा व्यवसाय अनुरुप साधनको खरिदमा सहयोग गर्ने योजना रहेको संयोजक चौधरीले बताए । कार्यक्रममा तालिमका सहजकर्ताहरु योजना चौधरी र विनिता शर्मा (जैशी) लगायत ३० जना सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।