काँग्रेसमा पुस्तान्तरण भन्दा रुपान्तरणको जरुरी : नेता पौडेल
- आइतबार कार्तिक ७ , २०७८
बिष्णु अधिकारी, बर्दिया । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसमा पुस्तान्तरण नभई रुपान्तरणको आवस्यकता रहेको बताएका छन् । बर्दियाको बाढी प्रभावित क्षेत्र राजापुरको अवलोकन गर्न पुगेका नेता पौडेलले राजापुरमा आयोजित भेटघाट कार्यक्रममा सोकुरा बताएका हुन् ।
उनले बर्दियाको बाढीप्रभावित राजापुर क्षेत्रको अवलोकन गरेका छन् । अवलोकन पछि पौडेलले संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै धान भित्राउने बेलामा बर्षा सहितको आएको बाढिले किसानको बाली तथा जग्गा कटान गरेकोमा किसानलाई द्रुत गतिबाट क्षतिपुर्ति सहितको राहतका लागि आफ्नै पार्टीको सरकारलाई आग्रह गर्ने बताएका छन् ।
बर्दिया अन्न बाली उत्पादनको दृष्टिकोणले उर्वर जिल्ला भएकाले तत्काल राहत र दिर्घकालिन क्षतिपुर्तिका लागि तुरुन्त प्रक्रिया थाल्नुर्पो बताए । बर्षा सँगै आएको बाढिले १७ सय परिवार विस्थापित एवं विच्चलीमा परेका नागरिकलाई उचित राहतको प्याकेज ल्याउन सरकार समक्ष माग गरेका छन् । यस क्षेत्रको ३५ हजार हेक्टर क्षेत्रफल जमिनमा उत्पादन भएको धानबाली नष्ट भएको छ ।
वरिष्ठ नेता पौडेलले कार्यकर्ता भेटघाट कार्यक्रममा आफु सिद्धान्त र व्यवस्थाका लागि लडिरहेको हुनाले समयमा नै महाधिवेशन हुनुपर्ने कुरामा जोड दिए । अरुलाई लोकतन्त्रको पाठ सिकाउने काँग्रेसको नेतृत्वले आफु लोकतान्त्रिक पद्धतीमा ढल्नु पर्छ कि पर्दैन भनी प्रश्न गरेका छन् । पौडेलले पार्टीलाई कमजोर पारि व्यक्ति बलियो बनाउन नेतृत्व पंक्ति लागि परेकोमा रोष प्रकट गरेका छन् ।
लोकतन्त्रमा निमुखाले न्याय र विपन्नलाई आय पाउने व्यवस्था भएकाले त्यस तर्फ सबैको ध्यान केन्द्रित भएमा मात्र लोकतान्त्रिक व्यवस्थाले सार्थकता पाउने उनको भनाई छ । पार्टी न्याय, निश्पक्ष तथा लोकतन्त्रमा चलेमा समयमा नै महाधिवेशन सम्पन्न हुने भएकाले पद्धती र सिद्धान्तका लागि आफु सधै लडिरहने बताएका छन् । पौडेलले महाधिवेशनमा कार्यकर्तालाई सही नेतृत्व चयनका लागि आग्रह गरेका छन् । काग्रेसमा पुस्तान्तरण भन्दा पनि रुपान्तरणको जरुरी रहेको पौडेलले औल्याए ।