कोरोना महामारीसँगै विश्व शान्तिका लागि पशुपतिमा महायज्ञ
- मंगलबार कार्तिक २ , २०७८
काठमाडौं । श्रीसीताराम नाम संर्कितन एवम् रुद्र महायज्ञ समितिले कोरोना महामारीको शान्ति र विश्व कल्याणको लागि कार्तिक ४ गतेदेखि १३ गतेसम्म पशुपतिनाथ मन्दिर प्रागंणमा ९ दिवसीय रामनाम संकीर्तन तथा रुद्र महायज्ञ गर्ने भएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा मूल आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरेर महायज्ञ गर्न लागिएको र त्यसको सम्पूर्ण तयारी समेत पूरा भएको जानकारी दिएको छ । समितिका अनुसार कात्तिक ३ गते कलश यात्राको आयोजना गरिएको छ । श्री श्री १०८ श्री स्वामी जगत नन्दन दासजी महाराज (पगला बाबा) को संकल्पमा महायज्ञ हुन लागेको हो ।
कार्यक्रममा बोल्दै श्री श्री १०८ श्री स्वामी जगत नन्दन दासजी महाराज (पगला बाबा) ले विश्वका सबैलाई शान्ति राख्नको लागि महायज्ञको आयोजना गरेको जानकारी दिए । बाबाले विश्वभरि अहिले अशान्ति हुँदै गएकोभन्दै त्यसलाई रोक्नको लागि आफूहरुले महायज्ञको आयोजना गरेको विश्वास दिलाए । महायज्ञले विश्वभर प्रकृतिमा भइरहेको प्रदुषण रोक्ने उनको जिकिर छ । मानव निर्माण गर्ने भगवान ब्रह्मा र सम्हार गर्ने भगवान शंकरको पुजा गर्न आफुले महायज्ञको आयोजना गर्न लागेको उनको भनाई छ । महायज्ञले मानवमा आएको समस्यालाई हटाउने पनि उनले विश्वास व्यक्त गरे । उनले राम भगवानको नाम ५ मिनेट बसेर जप्दा सबैको मनमा शान्ति हुने बताए ।
मूल समारोह समितिका उपाध्यक्ष कामेश्वर झाले विश्वभर कोरोना महामारीको अन्त्य गर्नलाई महायज्ञको आयोजना गरेको बताए । उपाध्यक्ष झाले कात्तिक ३ गते कलश यात्रा, ४ गते यज्ञ शुभारम्भ भएर कार्तिक १३ गतेसम्म महायज्ञ चलिरहने जानकारी दिए ।
अहिले चलिरहेको समयको उल्टो चक्रका कारण प्रकृतिलाई आपत् परेको भन्दै उनले कष्ट निवारणको लागि र विश्वमा फैलिएको महामारी र भविष्यमा हुनसक्ने घोर महाकालीको प्रलय निवारणको लागि चारै वेदका कथा श्रवणसहितको महायज्ञमा सहभागी बन्न सबैलाई आग्रह गरे ।
उनले हिन्दु धर्मालम्बी तथा अन्य सबैलाई परिवारको सदस्य, आफन्त, छर–छिमेक, नाता÷गोतासहित सहभागी भई पुण्य कमाउन समेत अनुरोध गरेका छन् । पशुपति विकास कोषले आफुहरुलाई धेरै सहयोग गरेको उनको भनाई थियो । ९ दिनसम्म चल्ने महायज्ञको बारेमा प्रचारप्रसार गरेर सहयोग गरिदिन पनि उनले मिडियासँग अपेक्षा राखेका छन् । सांस्कृतिक मण्डलका बदन मण्डलले कार्यक्रममा बोल्दै मानवको नाश हुनुमा रोगनै कारक भएको बताए । भगवान रामको तुलनामा अरु भगवान कोही नभएको उनको भनाई थियो । पशुपति क्षेत्र विकास कोषका कर्मचारी रेवती अधिकारीले निकै सहयोग गरेकोभन्दै प्रशंसा समेत गरे । उनले आफूहरुले आयोजना गर्न लागेको उक्त यज्ञ व्यक्तिगत नभई सामूहिक भएको भन्दै विश्व शान्तिको लागि महोत्सवको आयोजना गर्न लागेको जनाए । अहिले ‘जे छांै, ती सबै राम नामको कमाल’ भएको उनको भनाई थियो ।