कर्णाली नदीको बाढीले राजापुर तथा गेरुवा क्षेत्र डुबान
- मंगलबार कार्तिक २ , २०७८
चुरेकुञ्ज, बर्दिया । दुई दिनदेखि परेको अविरल बर्षाका कारण कर्णाली नदीले खतराको तह पारगर्दा बर्दियाको राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिका क्षेत्रमा बाढी पसेको छ । बाढीका कारण डुवान क्षेत्रका हजारौ स्थानिय प्रभावित भएका छन् ।
राजापुरको भदाली नालाबाट पसेको पानीले दौलतपुर, चनौरा, सोनपुर, मुर्गहवा क्षेत्र डुवानमा परेको छ । गेरुवाको बनकट्टीबाट पसेको पानीले सनकट्टी, रानीपुर क्षेत्र डुवानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाले स्थानियको उद्धार गरेका छन् । सुरक्षित स्थानमा राखिएका पिडितहरुलाई बर्दिया अक्सिजन बैंकले फास्ट फूडहरु उपलब्ध गराएको छ ।

बाढीका कारण राजापुर नगरपालिका वार्ड नम्वर १ र ३ मा ८ सय ६८ घरका ४ हजार ३ सय ४० जना र गेरुवा गाउँपालिका वडा नम्वर २ र ३ मा ९५ घरका ४ सय ७५ जना गरी ४ हजार ८ सय १५ जना प्रभावित भएको शसस्त्र प्रहरी गण ३१ नम्वर हेडक्वाटर बर्दियाका शसस्त्र प्रहरी उपरिक्षक नरबहादुर रावतले जानकारी दिए । बाढीबाट मानविय लगायत पशुधनको क्षती नभएको बताईएको छ । सुरक्षित स्थानमा सारिएका पिडितहरुलाई स्थानियतहले त्रिपालहरु वितरण गरेको छ ।
बाढीबाट मानविय लगायत धनजनको क्षती न्युनिकरण गर्न मोटरवोट सहित तिनै तहका सुरक्षा निकाय परिचालन गरिएको विपद ब्यवस्थापन समितिले जनाएको छ । गाउँमा कर्णाली नदी पसेपछि स्थानियलाई सुरक्षित स्थानतर्फ जान सूचना जारी गरिएको छ । नदीमा पानीको वहाव उच्च रहेकाले जोखिम कायमै रहेको स्थानिय प्रशासनले जनाएको छ ।