बेमौसमी बर्षाले किसानलाई आहत
- मंगलबार कार्तिक २ , २०७८
यादव आचार्य, गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर १० मुक्तिनारायण टोलकी सुवरानी थारु काटेको धान पानीले डुबाउँदा चिन्तित छिन् । ठेक्का लिएको जमिनमा खेताला लगाएर धान रोपाइँ गरेकी थारु स्याहार्ने बेलामा एकाएक पानीले क्षती पुर्याएपछि उनको सपना अधुरै भएको छ । बेमौसमी बर्षाले यतिखेर लाखौं किसानलाई राहत होईन आहत दिएको छ ।
धान स्याहारेर साहुँको ठेक्काको रकम बुझाउँछु । बर्षभरीलाई खाने धान छुट्याउँछु । बचेको धान बेचेर केटाकेटीको पढाई लगायतका काममा खर्च गर्छु भन्ने सोँच बनाएकी थिए । प्राकृतिक बेमौसमी भारी बर्षाले सबै सपना चकनाचुर पारिदियो । सुवरानीले गहँभरी आँसुपार्दै भनिन् महाजनलाई कसरी ठेक्काको रकम तिर्ने । उत्पादन त राम्रै हुन्छ पानीले सत्यानाश पार्छ । गहुपनि पानीले विगार्यो । कहिले बाढीले दुःख दिन्छ कहिले बर्षाले । कसरी जिवन निर्वाह गर्ने हो । सरकारले पनि राहत दिदैन ।
मजदुर लगाएर रोपाई गरेको धान काटेर स्याहार्ने बेलामा पानीले डुवाएर क्षती भयो । दुःख गरेर फसल उब्जाएपनि स्याहार्न पाईदैन । आफ्नो जग्गा पनि छैन । ठेक्कामा लिएर काम गरेपनि प्रकृतिले ठग्छ । उनले थपिन् काटेर खेतमा राखेको करिव १५ क्विन्टल धान खेतमै पानीले डुवायो । धान सडेर गन्हाएको छ । अब कसरी बर्षभरीको गर्जो टर्छ उनले दुःखेसो पोखिन् ।
केही दिनदेखि परेको अविरल बर्षाले उनीमात्र होईन जिल्लामा धेरै किसानहरु पिडित छन् । गुलरिया कोठियाकी मुक्तकमैया परिवार तारा चौधरीलाई अब बर्षभरी साँझ विहानको छाक कसरी टार्ने भन्ने पिरलो छ । काटेको धान पानीले डुवायो । धेरै अनाज नोक्सानी भयो । अब बर्षभरी के खाएर दिन काट्नु चौधरीले भनिन् राहतको त के कुरा पिडित किसानलाई जताबाट पनि आहत छ ।
भारतमा आएको आँधी सहितको बर्षाको असर नेपालमा पनि परेपछि केही दिन देखि देशका विभिन्न भुभागहरुमा भारी अविरल बर्षा भैरहेको छ । पश्चिम नेपालका पहाडी तथा तराईका जिल्लाहरुमा बर्षा भैरहेको र अझै हुन सक्ने भएकाले सजग हुनुपर्ने अवस्था छ । बेमौसमी बर्षाले नेपाली कृषकहरु मारमा परेका छन् । धान काटेर स्याहार्ने, आलु, तोरी लगायत तरकारीहरु लगाउने बेलामा दिनहुँ बर्षा भएपछि किसानहरु मर्कामा परेका छन् । बर्दियामा ५० हजार २५० हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । जिल्लामा धानको उत्पादकत्व प्रति हेक्टर ४ मेट्रिक टन छ । गतबर्ष २ लाख २६ हजार मेट धान उत्पादन भएको हो ।
बर्षाका कारण धान उत्पादनमा कमी आउन सक्ने अनुमान गरिएको छ । बेमौसमी बर्षाले १० हजार हेक्टर क्षेत्रफलमा काटेको र २५ हजार २०० हेक्टर काट्ने अवस्थाको गरी ३५ हजार २०० हेक्टर क्षेत्रफल धान बालीमा क्षती पुर्याएको कृषि तथा पशुपंक्षी बिकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले बताए । पानी नरोकिए क्षतीको मात्र थप बढ्न सक्छ । उनले भने बर्दियाको २० प्रतिशत क्षेत्रफलको धानबालीमा पानीले क्षती पुर्याएको छ । किसानहरुले छिटो पाक्ने धान भित्र्याएपनि ढिलो पाक्ने धान भित्र्याउँदै छन् ।
बर्दियाको राजापुर, ठाकुरबाबा, बाँसगढी नगरपालिका र गेरुवा तथा बढैयाताल गाउँपालिकामा अविरल बर्षाले काटेको धान नोक्सान गरेको छ । गुलरिया, मधुवन र बारबर्दिया नगरपालिकामा बढी क्षती भएको कृषि कार्यालयको तथ्यांक छ । प्रमुख घिमिरेले थपे किसानलाई क्षतीपूर्ति दिने प्रावधान हामीसँग छैन । धान बाली वीमा गरेका किसानहरुले वीमाबाट क्षतीको भुक्तानी पाउँछन् । अविरल बर्षा भैरहेकाले धान नकाट्न उनले सुझाव दिए । काटेर खेतमा राखेको पानीले भिजेको धानलाई उचाँ ठाउँमा राख्न सके केही क्षती न्युन हुन सक्ने उनको भनाई छ ।
साभार : अन्नपूर्ण पोस्ट्बाट …