fbpx

बर्दियामा फूलपाती (नवपत्रिका) भित्र्याईयो (फोटोफिचर)

बर्दियामा फूलपाती (नवपत्रिका) भित्र्याईयो (फोटोफिचर)

चुरेकुञ्ज, गुलरिया । वडा दशैको सातौं दिन बर्दियामा नव पत्रिका भित्र्याईएको छ । प्रहरी तथा शसस्त्र प्रहरीले डोली यात्रागर्दै सदरमुकाम गुलरियामा अवस्थित वगलामुखी र कोटही मंदिरमा विशेष पूजा–अर्चना गरी सुरक्षा निकायका कार्यालय परिसरमा रहेका दुर्गा भगवतीका देवालयहरुमा फूलपाती भित्र्याईएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी कार्यालयबाट ल्याईएका फूलपाती बगलामुखी मंदिर र कोटही मन्दिरमा पूजा परिक्रमा गरी आ–आफ्ना सुरक्षा निकायका कार्यालयमा भित्र्याईएको निमित्त प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बताए । जिल्लाका विभिन्न पालिकाहरुमा रहेका सुरक्षा निकायहरुले परम्परा अनुसार कार्यालयमै शास्त्रोक्त विधिले फूलपाती भित्र्याएका छन् । फूलपाती पूजागर्दै वगलामुखी मंदिरमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त सलामी सहित कुष्माण्ड वली अर्पण गरिएको शर्माले प्रष्ट्याए ।

फूलपातीको अघिल्लो दिन जेष्ठा नक्षत्रसहितको षष्ठिको साँझ विषेश पूजा सहित बिल्व बृक्षलाई निमन्त्रण गर्ने शास्त्रोक्त विधान छ । सप्तमी अर्थात फूलपातीका दिन सोही वेलको बृक्षबाट त्रिशाखा सहित (एउटै हाँगोमा फलेको) तिनवटा बेल टिप्ने गरिन्छ । विल्व फलपत्रसँगै दाडिम, केरा, धान, वेसार, मानक, कचुर, अशोक र जयन्ती गरी नवपत्रिकाको विशेष पूजा गरी टिप्ने विधान छ जसलाई नवपत्रिका (फूलपाती) भनिन्छ ।

सप्तमीमा भित्र्याईएका नवपत्रिकाहरुलाई पल्लव नव देवीका नामले विशेष पूजा गरिन्छ । केरा ब्रम्हण्यै, दाडिम रक्तचण्डीका, धान लक्ष्मी, वेसार दुर्गा, मानक चामुण्डा, कचुर कालिका, बेल शिव, अशोक शोकहारिणी र जयन्ती कार्तिका देवीका रुपमा पूजा गरिन्छ । अष्टमीमा कालरात्रीका अवसरमा भद्रिका पूजा गर्ने प्रावधान शास्त्रहरुमा उल्लेख छ । अष्टमीका दिन कालरात्रीमा एकादश गौरी, षोडश देवी, चतुषष्ठि देवी लगायत भैरवको पूजा गरिन्छ । सोही दिन सिंहासन, खड्ग, छुरी, कट्टारक लगायतका अस्त्र पूजा गर्ने हिन्दु परम्परा रही आएको छ ।

तपाइको मत