गुलरियामा अवस्थित ऐतिहासिक मातंगी देवी मन्दिर
- बिहिबार असोज २१ , २०७८
दिनेसप्रसाद श्रेष्ठ, गुलरिया । बर्दियाको सदरमुकाम गुलरियाको राधाकृष्ण चोकको उत्तर पश्चिममा रहेको मातंगी टोल गुलरिया बजारको पुरानो टोलहरु मध्येको एउटा टोल हो । पछिल्लो समय भएको विकासले मातंगी टोलको स्वरुप बदलिएको पाईन्छ । टोलमा अवस्थित मातंगी देवीको नामले टोलको नामाकरण भएको हो ।
१. मतंगा गाउँ, टोल
बर्दियाको गुलरिया नगर पालिका वडा नं. ५ मा एउटा ’मतंगा’ नामक गाउँ (हाल एउटा टोल) छ । २०२१ सालको भूमि सुधारभन्दा पहिले यो मतंगा पदनाहा तप्पा अन्तर्गतको एउटा मौजा थियो । मौजामा एकभन्दा बढी गाउँहरु पनि हुन्थे । तर मतंगा मौजामा एउटै गाउँ थियो । एक सय एघार बर्ष अघि बि.सं. १९६७ सालमा बर्दियाको प्रथम नापी हुँदा यस मतंगा मौजाको सीमा पूर्वमा भादा खोलाको जङ्गल; पश्चिममा भगाहा ताल (ऐलेको कृष्णसार ताल भनिएको) र तुलापुर, उत्तरमा सुहेलवा तथा दक्षिणमा कोठिया र गुलरिया मौजाहरु रहेका थिए ।
त्यतिबेला यो मतंगा मौजाको क्षेत्रफलः ८० कित्तामा १३२÷–÷३ बिगहा थियो । यस मौजाभित्र २७ घरधुरीहरु थिए । जसमा धोबी–६, अहिर–६, खटिक–४, भुर्जी–३, मुसलमान–२, नाउ–१, साहु–१, मिसर–१, मुरलीधर पंडित–१ थिए । दुई घरधुरीको पहिचान भएन । त्यतिवेला यस मौजाका जमिनदार थिए–नवाब बाबु साब अली खान । यी जमिन्दार बर्दियाको त्यतिबेलाको सबभन्दा ठूला जमिन्दार थिए, पछिल्ला जमिन्दार हरिहर गौतमभन्दा पनि ठूला ।
२. मातंगी मन्दिर
मतंगा टोलमा ऐले एउटा सानो परिसर सहितको मातंगी मन्दिर छ र मन्दिरको पूर्वपट्टि एउटा मातंगी कुँवा पनि छ । यो कुवा ऐले सडक विस्तारको कारण मातंगी परिसरबाट बाहिर सडकको पश्चिम छेउमा परेको छ । करिब १८÷१९ बर्ष अघिसम्म मतंगा टोलमा मातंगी देवीको न कुनै मन्दिर थियो न कुनै प्रतिमा थियो । त्यहाँ मात्र थियो केवल त्यो मातंगी कुँवा । त्यही कुँवामा परम्परादेखि आसपासका गाउलेहरुको अटूट आस्था, श्रध्दा र भक्तिले निरन्तरता पाउँदै आएको थियो ।
त्यसै कुँवामा माता मातंगी कल्याणमयी रुपमा रहेकी आम जनबिश्वास रहदै आएकोमा १७ बर्ष अघि स्थानीय भक्तजनहरुको सत्प्रयासबाट त्यहाँ मातंगी भगवतीको एउटा सानो मन्दिरको निर्माण र मन्दिर गर्भगृहमा मातंगी भगवतीको प्रतिमा प्रतिष्ठापन भएको थियो । त्यतिबेलासम्म परम्परादेखि कुँवाको होचो पर्खाल रहदै आएकोमा त्यसैबेला कुँवाको पर्खाल उचालिएको हो ।
३. कुँवाको सत्यता
परम्परादेखि स्थानीय गाउँलेहरु (बासीन्दाहरु) पहिले पहिले कुनै पनि रोग विराम पर्दा विरामीलाई त्यसै मातंगी कुँवाको जलले स्नान र जल सेवन गर्ने गराउने गर्दथे एवम् सञ्चो भएको अनुभूति गर्दथे । पहिले कुँवाको पर्खाल होचो भएको कारण त्यस कुँवामा कयौं बालबालिकाहरु खस्थे । तर तिनीहरु कसैको पनि मृत्यु हुदैनथ्यो, चाहे बर्षातको बेला कुँवा पानीले जतिसुकै टम्म किन नहोस् ।

४. मातंगी कुँवामा आस्था कति पुरानो ?
यो स्थानीय जन आस्था, बिश्वास, श्रध्दा र भक्ति के कारणले र कहिलेदेखि शुरु भयो कसैलाई थाह छैन । तर परापूर्वकाल देखि यो चल्दै आएकोमा अब यो कुँवाबाट मन्दिरमा स्थानान्तरित भएको छ । जे होस्, मातंगीप्रतिको जन आस्था र भक्ति भावनाले निरन्तरता चैं पाएको छ । मतंगा टोलको मातंगीको अध्ययन र चिन्तन मनन गर्दा यो पौराणिक कालदेखि रहेको भान हुन्छ ।
५. मातंग ऋषिको आश्रम
मलाई बगनाहका एक दुई जना धर्म–संस्कृति अनुरागी विद्वत जनहरुले भनेका छन् । प्राचीन कालमा बबई ब्यारेजको समिपस्थ उत्तरको ’परेवा ओडार’ मा बरद ऋषि र गुलरियाको आसपास मै कतै मतंग (मातंग) ऋषिको आश्रम थियो रे । यो कुरा वहाँहरु वा वहाँका पूर्वजहरुलाई काठमाडौंको त्रिपुरेश्वरको कालमोचन घाटमा साधनारत कुनै साधु महात्माले बताएका थिए रे । उनले त यो पनि भनेका थिए रे कि बर्दिया जिल्लाको नाम ’बर्द’ वा ’बर्दिवा’ बाट नभई बरद ऋषिको नामबाटै नामाकरण भएको हो रे । मलाई यो जानकारी गराउने मध्येका एक जना नेपाल रेडक्रस सोसाइटी बर्दिया शाखाका पूर्व सभापति स्वर्गीय प्रमोद बिक्रम राणा हुन् ।
६. को हुन मतंग ऋषि ?
मतंग ऋषि रामायण कालीन एकजना महातस्वी, योगी, त्यागी, वितरागी एवं शिध्द महात्मा हुन् । उनी हजारौं बर्षसम्म समाधीमा रहन्थे । उनी एउटी ब्राह्मणीको गर्भबाट उत्पन्न एक जना नापितको पुत्र थिए । यिनले ब्राह्मणत्व प्राप्त गर्न घोर तप गरेका थिए । ईन्द्रको वरदानले यी मतंग वा मातंग ऋषि ’छन्दोदेव’ को नामले पनि प्रशिध्द छन् । यिनी रामभक्त बृध्द महिला शबरीको पनि गुरु हुन् । मतंग भगवान शिवको नाम पनि हो । साथै एक मान्यताका अनुसार सूर्य र नारदको अलावा ऋषि मातंग पनि हनुमानजीको गुरु थिए । ब्रह्माण्ड पुराण ४.३१.९०, वायु पुराण ७७.९८, महाभारत, अनुशासन पर्व २७.८.२४ र वाल्मीकिय रामायण, अरण्य पर्वको सर्ग ७३–७४ मा यसको उल्लेख छ । साथै महाकवि तुलसीदासको ’रामचरितमानस’ मा पनि उल्लेख छ ।
७. मातंगी भगवती
मातंग ऋषिको आश्रममा माता दुर्गाको आर्शीवादले जुन कन्याको जन्म भएको थियो, तिनी ’मातंगी देवी’ थिइन । दश महाबिद्याहरु मध्ये नवौं महाबिद्यालाई मातंगी देवी मानिन्छ । मातंगी देवीको आराधना बौध्द धर्ममा पनि ’मातागिरि’ को रुपमा गरिन्छ । यो कुरा बोधीसत्व मातंग जातक कथामा उल्लेख छ ।
राधाकृष्णकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष एवम् समाजसेवी पत्रकार दिनेसप्रसाद श्रेष्ठले मातंगी मंदिर र क्षेत्रको ऐतिहासिक पृष्टभुमि लेख्नु भएको हो । हामीले श्रेष्ठको फेसवुक वालबाट साभार गरी ऐतिहासिक लेख तथा तस्विर प्रकाशन गरेका छौं ।