fbpx

नेपालका सोनाहा जाती लोपोन्मुख जातीमा समावेश हुने सुनिश्चित : लुम्विनी प्रदेश प्रमुख अमिक शेरचन

नेपालका सोनाहा जाती लोपोन्मुख जातीमा समावेश हुने सुनिश्चित : लुम्विनी प्रदेश प्रमुख अमिक शेरचन

विष्णु अधिकारी, राजापुर । सोनाहा जातीले राजापुर नगरपालिका–१ हिमालीपुर बर्दियामा तेस्रो नेपाल राष्ट्रिय सोनाहा सम्मेलन गरि आफ्नो समस्याका बारेमा राज्यको ध्यानआर्कषण गराएका छन् । उनीहरुले सोनाहालाई पनि अन्य जाती सरह आफुहरु पनि सुचिकृत भई राज्यको मुल प्रवाहमा ल्याउन आग्रह गरेका छन् ।

विशेष गरी सोनाहा जातीहरु बर्दिया, कैलाली र कञ्चनपुरमा गरी करिब १३ सयको हाराहारिमा छरिएर रहेको सोनाहा विकास समाजका अध्यक्ष बल बहादुर सोनाहाले सम्मेलनमा बताएका छन् । आफुहरुको पुर्खौली पेशा माछा मार्ने र बगरमा बालुवा चाली सुन चाल्ने पेशा संकटमा परेकाले जिविकोपार्जन गर्न गाहे भएको बताए । आफुहरुको पेशागत तथा सामाजिक समस्यालाई राज्यले सम्बोधन गर्न नसेकोमा रोष प्रकट गरे । सोनाहाहरु कि त नेपाली होइनन भन्नुपर्यो नत्र सोनाहा जातीलाई लोपोन्मुख तथा अल्पसंख्यक जातीमा समावेश गर्नु पर्नेभन्दै कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन सँग उनीहरुले आग्रह गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आफुलाई राजापुर क्षेत्र आदिवासी थारुहरुको बाहुल्यता भएको क्षेत्र लागेको तर त्यसभित्र पनि सोनाहा जाती अलग्गै जाती भएको कुरा थाहा नभएका कारण आज सम्म सुचिकृत हुन नसकेको बताए । प्रदेश प्रमुख शेरचनले ०७२ सालमा नै सर्वोच्च अदालतले प्रक्रिया मिलाएर सुचिकृत गरिदिनु भनि मन्त्रीमण्डललाई दिएको परमादेशको आधारमा आफु सोनाहा जातीको सुचिकृतका लागि संघिय सरकार प्रमुख प्रधानमन्त्री सँग वार्तालाप गर्ने र निकास निकाल्ने प्रतिवद्धता ब्यक्त गरे ।

शेरचनले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्चलाई भएको हुँदा सर्वोच्चले दिएको यो आदेश जुनसुकै सरकार भएपनि पालना गर्नुपर्ने संवैधानिक व्यवस्था भएका कारण सोनाहा जाती सुचिकृत हुने कुरा सुनिष्चित भएको दावी समेत गरे । कार्यक्रममा लुम्बिनी प्रदेशका सदस्य तिलकराम शर्मा, दिपेश कुमार थारु, राजापुर नगरपालिकाका प्रमुख, उप–प्रमुख, वडा अध्यक्षहरुले सोनाहा जातीलाई सुचिकृत गर्ने अभियानमा आफुहरु अग्रमोर्चामा रहि साथ दिने बताए । कार्यक्रममा कैलाली, कञ्चनपुरका सोनाहा जातीहरुको पनि उपस्थिती रहेको थियो ।

तपाइको मत