fbpx

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

काठमाडौं । गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन । हाल एनआरएनए उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन ।

उनले संघको २०२१÷२०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन । घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन । २० बर्षको अन्तरालमा यसअघि जमुना गुरुङले कोशिस गर्नुभएको थियो । उहाँको कोशिसलाई सफल पार्न अहिले म आएकी हुँ । आफैंले इच्छा गरेमात्रै नेतृत्वमा पुग्न महिलाहरु सफल हुनेछौं ।’

उनले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउदै सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई अपिल गरिन । ‘पहिलो चोटी एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौं । यो एउटा इतिहास रहनेछ । अर्कोतर्फ महिला नेतृत्वमा पुगेको तपाईं देख्न चाहनुहुन्छ भने सहयोग गर्नुहोस’ थापाले भनिन । परराष्ट्र मन्त्रालयले निर्वाचन स्थगित नगरेको भन्दै अनुरोध मात्र गरेको उनले जानकारी दिईन ।

सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउन दबाब दिने थापाले बताइन । लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिटेन्स पठाइरहेका छन । उनीहरूलाई त मतदानको अधिकारबाट वञ्चित गर्नु हुँदैन भन्ने हो, उनले भनिन ‘समयमा नै चुनाव हुनेमा म विश्वस्त छु । परराष्ट्रमा परेको उजुरीको कारणले पनि हाम्रो टिमले पूर्णता पाउन ढिलाइ भएको हो । सबै देशहरुलाई समेटेर छिट्टै बलियो टिम निर्माण गर्छौ ।

अहिले एनआरएनमा सदस्य १ लाख ५ हजार मात्र रहेकोमा आफु अध्यक्षमा निर्वाचित भएमा संघको सदस्य संख्या १५ लाखसम्म पुर्याउँने लक्ष्य रहेको उनले बताईन । उनले भनिन ,‘लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिटेन्स पठाइरहेका छन । उनीहरूलाई त मतदानको अधिकारबाट बञ्चित छन, त्यो अधिकार सबैले पाउँनुपर्छ ।’ अहिले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाउने उनले बताईन ।

उनले विदेशमा हासिल गरेका सीपलाई व्यावसायिकीकरण गर्ने योजना समेत रहेको बताइन । विदेशबाट एक जना नेपालीले सिकेर आएको सिपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरै जनालाई सिपयुक्त बनाउन सकिने उनको भनाई छ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा थापाले उपाध्यक्षमा सबैभन्दा बढी मतले चुनाव जितेकी थिइन ।

घोषणा सभामा नै उपाध्यक्ष पदमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन । दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि संघको अध्यक्ष पदमा अमेरिका निवासी थापा,बेलायतका कुल आचार्य र रसियाका डा. बद्री केसी बीच अध्यक्षमा प्रतिस्पर्धा हुने देखिएको छ ।

तपाइको मत