ठाकुरबाबा नगरपालिकामा जेष्ठ नागरिकलाई सम्मान
- शुक्रबार असोज १५ , २०७८
हरिवंश पाण्डे, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वार्ड नम्वर ९ मा स्थानीय जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक दिवसको अवसर पारेर जेष्ठ नागरिकलाई सम्मानगर्दै जेष्ठ नागरिक चौतारी भवनमा आवश्यक सामाग्री समेत हस्तान्तरण गरिएको छ ।
शुक्रवार ३१ औं जेष्ठ नागरिक दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वार्ड नं. ९ ठाकुरद्वाराको आर्थिक सहयोग एवम् जेष्ठ नागरिक मञ्च ठाकुरद्वाराको आयोजनामा जेष्ठ नागरिक सम्मान तथा सामाग्री हस्तान्तण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमा बोल्दै प्रमुख अतिथि तथा ९ नम्बर वार्ड अध्यक्ष राधा चौधरीले जेष्ठ नागरिक हाम्रा पुर्खा भएकोले सधै उहाँहरुले देखाएको बाटोमा हिड्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । अभिभावकहरुकै सहयोगले आफू यस स्थानमा पुगेकोले सधै जेष्ठ नागरिक प्रति सम्मान रहेको उहाँको भनाई छ ।
अघिल्लो वर्ष जेष्ठ नागरिक लाई बिनियोजित बजेट नगरक्षेत्रको समग्र शैक्षिक विकासका निम्ति विद्यालयलाई दिने जेष्ठ नागरिक संजालको निर्णयको प्रसंसागर्दै वार्ड नं. ९ को विनियोजित बजेटबाट छुटाएको रकमले जेष्ठ नागरिकका लागि निर्माण भएको भवनमा कार्पेट कुसन लगाएतका सामाग्री सहयोग गरेको वार्ड सचिव जीवन कडेलले जानकारी दिनु भयो ।
जेष्ठ नागरिकहरुले दैनिक रुपमा उक्त भवनमा उपस्थित भई भजन कीर्तन गर्ने, दुःख सुखका कुरा साटासाट गर्ने कार्यगर्दै आइरहेका छन् । दैनिक रूपमा भेला हुने जेष्ठ नागरिकलाई खाजा नास्ताको व्यवस्था गर्न आर्थिक संकलन गर्ने कार्यको शुभारम्भ समेत गरिएको छ । जेष्ठ नागरिक दिवसका अवसरमा विभिन्न व्यक्तित्वहरुले ४ हजार बढी नगद आर्थिक सहयोग गरेका छन् ।
उक्त रकम बाट जेष्ठ नागरिकलाई खाजा नास्ताको व्यवस्था गर्न सहज हुने नगद सहयोग कर्ता बिना भट्टराईले बताउनु भयो । जेष्ठ नागरिक मञ्चका अध्यक्ष जयबहादुर बमको प्रमुख अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय स्तरका संघ संस्था तथा निकाएका प्रमुख तथा प्रतिनिधिहरु र जेष्ठ नागरिकको उपस्थिति थियो ।