fbpx

बाँसगढीका ब्यवसायीलाई उपभोक्ता संरक्षण ऐन बारे सचेतना

बाँसगढीका ब्यवसायीलाई उपभोक्ता संरक्षण ऐन बारे सचेतना

अनोज थारु, बाँसगढी । बाँसगढी उद्योग वाणिज्य संघ तथा राष्ट्रिय उपभोक्ता मन्च बर्दियाको संयुक्त आयोजनामा बासँगढी उद्योग वाणिज्य संघको सभाहलमा उपभोक्ता तथा ब्यवसायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारबाट लागु गरिएको उपभोक्ता संरक्षण ऐनमा भएका व्यवस्थाका वारेमा व्यवसायी र उपभोक्तालाई सचेतना गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शिवराज सेढाईले उपभोक्ता तथा ब्यवसायिक सचेतना कार्यक्रमको सहजीकरणगर्दै उपभोक्ता संरक्षण ऐनले व्यवस्था गरेका सेवा, सुविधा, हक, अधिकार लगायत दण्ड जरिवानाका वारेमा उत्पादक र उपभोक्ता जानकार भएमा मात्र यसको कार्यान्वय पक्ष बलियो हुने बताउनु भएको छ । कुनै पनि वस्तुको व्यापार तथा उपभोग गर्ने सन्दर्भमा निश्चित मापदण्ड पुरा गर्ने र पूरा भए नभएको वारेमा उपभोक्ता आफै पनि सचेत हुनुपर्ने उहाँको भनाई छ ।

उहाँले उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कारबाही गरेको बताउनु भयो ।ं कार्यक्रममा राष्ट्रिय उपभोक्ता मन्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले ऐन लागु भइसके पश्चात ऐनले व्यवस्था गरे बमोजिम कार्यान्वयनमा जाने सन्दर्भमा कतिपय उत्पादन, व्यवसायी र उपभोक्तालाई यसको जानकारी नहुंदा अफ्ठेरो परेको बताउनुभयो । विभिन्न ब्यवसायी संघका अध्यक्षहरुले उपभोक्ता अधिकारको अनुगमन तथा नियमन गर्ने निकायबाट यसको प्रभावकारी अनुगमन नगरिएकाले उपभोक्ताले संविधानमा उल्लेख गरिएको मौलिक हकका रूपमा रहेको उपभोक्ता अधिकार उपभोग गर्न नपाएको गुनासो गरे ।

बासगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंग थारुको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न ब्यवसाय, संघका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन उद्योग बाणिज्य महासंघ बाँसगढीका महासचिव युगपति पौडेलले गर्नुभएको हो ।

तपाइको मत