अपराध रोक्न नागरिक–प्रहरी एकता आवस्यक : एसपी कार्की
- बिहिबार असोज ७ , २०७८
विष्णु अधिकारी, गुलरिया । शान्ति पुर्नस्थापनाको आब्हान मानव बेचविखन विरुद्धको अभियान भन्ने मुल नाराकासाथ ४२ औं सामाजिक सेवा दिवस बर्दियाको गुलरियामा मनाइएको छ । जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र तथा शान्ति पुनस्र्थापना गृहको संयुक्त आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाईएको हो ।
कार्यक्रममा शान्ति पुनस्र्थापना केन्द्र बर्दियाकी कार्यक्रम संयोजक सपना शर्माले मानव बेचविखन जोखिममा र हिंसामा परेका महिला तथा बालबालिकालाई उद्धार गरि समाज तथा पारिवारिक पुनर्मिलन गर्दै आइरहेको बताएकी छिन् । संस्था मार्फत भारतका विभिन्न ठाँउहरुमा बेचविखनमा परेका र परिवारको सम्पर्कमा आउन नसकेकाहरुलाई उद्धार गरि पुनर्मिलन गराउदै आईरहेको उनको भनाई छ ।
मानव बेचविखन तथा ओसारपसार अपराध विभिन्न रुप र स्तरमा विश्वव्यापी रुपमा फैलिएको प्रति चिन्ता ब्यक्त गरिएको छ । यौनशोषण, बालशोषण तथा मानव अंग बेचविखन कार्यले जरा गाड्दै गइरहेको हुँदा सामाजिक सचेतना जगाउने मुख्य उद्धेश्यले कार्यक्रम आयोजना गरिएको संयोजक शर्माले जनाईन् । कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक इश्वर कार्कीले नागरिक तथा प्रहरीको हातेमालोबाट मात्र अपराध निर्मुल समाज निर्माण हुने भएकाले सही सुचना, सही समयमा प्रहरीलाई दिन आग्रह गरे ।
उपरिक्षक कार्कीले समाज तथा छरछिमेकमा लैङ्गिक हिंसा, बेचविखन तथा मानव ओसारपसार, यौन हिंसा, शारिरीक बन्धक बनाएको घटनामा प्रहरीले तत्काल उद्धार गरि दोषीलाई कारवाहीको दायरामा जसरी पनि ल्याउने बताएका छन् । जिल्ला प्रहरी कार्यालमा महिला, बालबालिका तथा जेष्ठ नागरिकको न्यायिक समस्या छिटो छरितो समाधानका लागि सेवा केन्द्र मार्फत सेवा दिइरहको जानकारी कार्कीले दिए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका सचिव उमेश मल्लिकले समाजमा हुने गरेका सामान्य किसिमका झैझगडालाई समुदायमा नै छलफल गरेर मिलाउने कार्यगर्दै आइरहेको बताएका छन् । समुदायमा हुने अपराधका विषयमा केन्द्रले समुदायलाई सचेत पार्ने काममा सदैव प्रयत्नशिल रहेको बताए । कार्यक्रममा नागरिक समाज, संघसंस्थाका प्रतिनिधि, नेपाल प्रहरी तथा संचारकर्मीको उपस्थिती रहेको थियो ।