जलयायु न्यायमा युवा
- आइतबार असोज ३ , २०७८
सुनिता चौधरी, राजापुर । बर्दियाको राजापुर नगरपालिकाका युवाहरुले जलवायु न्यायका लागि आवाज उठाउन थालेका छन् । जलवायु परिवर्तन, वातावणिय ह्रास र असंवेदनशील मानवीय व्यवहारका कारण समुदायको दैनिक जीवन प्रभावित भैरहेको अवस्थामा राजापुरका युवाहरुले जलवायु न्यायको लागि आवाज उठाउन थालेका हुन् ।
राजापुर नगरपालिकाका १० वटै वडाबाट युवाहरुको प्रतिनिधित्व रहेको युवा बखेरी केन्द्र नामक युवा समूहले यो कार्यलाई अभियानकै रुपमा अगाडि बढाउन थालेको हो । जलवायु परिवर्तन र यसको असरका कारण विश्व प्रभावित भैरहेको बेला नेपालका नागरिक समेत यसबाट प्रभावित भैरहेको अवस्थामा बर्दियाका युवाहरुले आफ्नो समुदायमा सचेतना जगाउन र सरोकार वालाको ध्यानाकर्षण गर्न जलवायु न्यायको आवाजलाई अभियानकै रुपमा अगाडि बढाउन लागेको युवा बखेरी केन्द्रले जनाएको छ ।
अभियानको शुरुवातमा युवाहरुले राजापुर बजारको बिभिन्न स्थानमा चित्र प्रदर्शनी गरेका छन् । बिभिन्न सन्देशमूलक चित्र, फेस आर्ट, नारा र भनाई सहितको सचेतना मूलक प्रदर्शनी गरेका हुन् । प्रकृतिको रक्षा, हाम्रो सुरक्षा, पेटमा ग्याँस्ट्रिक र खेतमा प्लाष्टिक उस्तै उस्तै हो, डोन्ट बि ग्रिडि, बि ग्रिनी, प्रकृति पूजक हम्र थारु, प्रकृतिहन पुज्ना केल नाँहि, संरक्षण फे करी लगायतका सन्देश सहितको चित्र राजापुर बजारको बिभिन्न चोक तथा गल्लीहरुमा प्रदर्शन गरिएको हो ।
जलवायु न्यायका लागि समुदायका व्यक्तिहरुको प्रतिवद्धता लिने उदेश्यले जलवायु न्यायको लागिमेरो प्रतिवद्धता भन्दै प्रदर्शन स्थलमा राखिएको राखिएको डेस्कमा मानिसहरुले बिभिन्न प्रतिवद्धता समेत जनाएका छन् । प्रदर्शनी स्थलमा आएका करिब ४५ मानिसहरुले जलवायु न्यायको पक्षमा आफ्नो हस्ताक्षर सहित प्रतिवद्धता व्यक्त गरेका हुन् । प्रतिवद्धता जनाउनेहरुले म आजदेखि प्लाष्टिक प्रयोग गर्दिन, प्रकृतिको संरक्षण मेरो जिम्मेवारी लगायतका प्रतिवद्धता जनाएका छन् ।
प्रदर्शनी स्थलमाआएका राजापुर नगरपालिकावडा नम्बर ८ का ६५ वर्षिय मनिराम थारुले पहिला राजापुरमा अर्गानिक रुपमै धानको राम्रो उत्पादनहुने गरेकोमा अहिले राशायनिक मल नहाल्दा सम्म धान उत्पादन हुन नसक्ने अनुभव सुनाउनु भएको थियो । यस्तै त्यहाँ आउनेहरुले पहिला बन जंगल प्रशस्तहुँदा पानीका मुहानहरु प्रशस्तै हुने गरेको अहिले कतिपय ठाउँमा पानीको अभाव हुन थालेको, पहिला खाने अन्नबालवी स्वस्थकर हुँदा स्वास्थ्य समस्या कम हुने गरेकोमा अहिले रोगब्याधी बढ्न थालेको लगायतका स्थानीय सवालमा अन्र्तक्रिया समेत गरका थिए ।
प्रदर्शनी हेर्ने, उक्त स्थानमा अन्र्तक्रिया गर्ने र हस्ताक्षर गर्ने गरी करिब २ सय जनाले कार्यक्रममा आफ्नो सहभागिता जनाएको युवा बखेरी केन्द्रले जनाएको छ । एक्सनएड नेपाल र स्थानीय साझेदार संस्था कमैया महिला जागरण समाजको सहयोगमा भएको प्रदर्शनीमा सहभागी हुने युवाहरुले कोरोना भाईरसबाट बच्न सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरेका थिए भने कार्यक्रम स्थलमा आउने सहभागीहरु लाई पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सचेत गराउँदै सहभागी गराएका थिए ।
जलवायु परिवर्तनले हाम्रो दैनिक जीवन, स्वास्थ्य, जीवनशैली, कृषिकर्म, वातावरण लगायतमा गम्भीर प्रतिकुल असर पारिरहे पनि जलवायु अनुकूलनको लागि खास्सै कामहुन नसकेको र यसमा सरोकारवालाको ध्यान पनि जान नसकिरहेको अवस्थामा समुदाय स्तरबाटै चेतना जगाउने उदेश्यले शुरु भएको जलवायु न्याय सम्बन्धी अभियान यसैगरी रचनात्मक रुपमा अगाडि बढाउन युवा बखेरी केन्द्रकी संयोजक सीता चौधरीले बताउनु भयो ।
कार्वन बढी उत्सर्जन गर्ने अमेरिका, अष्ट्रेलिया, चीन जस्ता देशहरुले जलवायु परिवर्तन कम गर्न र यसको अनुकूलनका लागि बढी उत्तरदायित्ववहन गर्नु पर्ने माग सहित जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलनको सवालमा विश्वभरी नै अभियान तथा आन्दोलन सञ्चालन हुँदै आएका छन् । जलवायु परिवर्तनका कारण प्रभावित विश्वभरीको देश मध्ये नेपाल चौथो स्थानमा पर्छ ।