पसलबाट म्याद गुज्रिएका खाद्य सामाग्री बरामद गरी नष्ट गरियो
- शनिबार असोज २ , २०७८
मुरली गोडिया, गुलरिया । बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको नेतृत्वमा गएको अनुमगमन समितीले म्याद नाघेको खाद्यन्न लगायतका सामाग्री फेला पारी नष्ट गरेको छ । जिल्लाको मधुवन लगायत ठाकुरबाबा नगरपालिकाको शाहिपुर, बग्नाह, भुरीगाउँ क्षेत्रका बजारमा अनुगमन गरेको हो ।
प्रशासन, प्रहरी, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य तथा गुणस्तर कार्यालय, वाणिज्य कार्यालय, राजस्व कार्यालय, नेपाल पत्रकार महासंघ, उपभोक्ता हित संरक्षण मंच, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, कृषि तथा पशुपंक्षी बिकास कार्यालय लगायत पालिका स्तरिय उद्योग बाणिज्य संघको सहभागीतामा अनुगमन गरी बरामद खाद्यान्नहरु गुलरियामा नष्ट गरिएको घरेलु कार्यालय गुलरियाका प्रमुख मोहन घर्तीमगरले बताए । अनुमगमनका क्रममा म्याद नाघेका खाद्यान्न, किराना समेत बरामद गरेका छौ । उनले भने बिल, विजक नराखिएको पसलका संचालकलाई रू. २० हजार जरिवाना गरिएको छ ।
लेबल टाँस नगरिएका, म्याद नाघेका अन्दाजी मुल्य रू. २५ हजार ३ सय ५४ बराबरका बिभिन्न किराना, खाद्य तथा सुर्तिजन्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष इन्दकुमार श्रेष्ठले जानकारी दिए ।
संयुक्त टोलीले मधुबन नगरपालिका र ठाकुरबाबा नगरपालिकामा रहेका सानोश्री बजार, शाहीपुर, बगनाह र भुरिगाउँ बजारका किराना, मिठाई, मासु, एग्रोभेट, हार्डवेयर, कस्मेटिक पसल र मेडिकल गरी ७३ वटा पसलहरुको अनुमन गरी पसलका संचालकहरुलाई गुणस्तरयुक्त सामाग्रीहरु बिक्रि वितरण गर्न, उपभोक्ताले देख्ने गरी दररेट राख्न, तोकिएको दररेट भन्दा बढीमा बिक्रि वितरण नगर्न निर्देशन समेत दिएको सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बताए ।
