गुलरिया बजारका सडक पशु नियन्त्रणमा लिई गौशाला पठाइँदै
- आइतबार भदौ २७ , २०७८
चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिकाले सडकमा भेटिएका छाडा चौपायाहरु नियन्त्रणमा लिई गौशाला पठाउने तयारी गरेको छ । सडक पशुहरुले जोखिम बढाएपछि नगरपालिकाले नियन्त्रणमा लिँदै गौशाला पुर्याउने तयारी गरेको हो ।
हामीले धेरै पटक छाडा पशुहरु गौशाला पठायौं तर संख्यामा कुनै कमी आएको देखिदैन गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले बताए । छाडा गाईबाछाहरुले सडकमा उत्तिकै जोखिम बढाएको छ । हामीले नगरपालिकाको कर्मचारी लगाएर सडकमा सबै छाडा पशुहरुलाई नगर भवनको फिल्डमा जमा गरेका छौं । यिनीहरुलाई गौशाला लैजाने तयारी भैरहेको छ । नगरपालिकाकै अनुदानमा गोठाला राखेर गौशाला संचालनमा छ तर पर्याप्त बजेट नहुँदा समस्या उस्तै छ । छाडा गाईहरुको ब्यवस्थापनमा राज्यले यथाशिघ्र पहल गर्नुपर्छ ।
गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले १ सयभन्दा बढी छाडा गाई नियन्त्रणमा लिई गौशालामा ब्यवस्थापन गर्न लागिएको बताए । शसस्त्र प्रहरी, नेपाल प्रहरी र गुलरिया नगरपालिकाका कर्मचारी लगाएर हामीले सडकबाट नियन्त्रणमा लिएका गाईहरु गौशालामा ब्यवस्थापन गर्दैछौं । गुलरिया नगरपालिका बजार क्षेत्र वडा नम्वर ६ मा अवस्थित छ ।
वडा बजार क्षेत्रमा भएकाले खासै पशुपालन हुँदैन । तर पनि बजार भरी गाई नै गाई हुन्छन् । गुलरिया नगरपालिका वडा नम्वर ६ का वडाअध्यक्ष निरज शर्माले भने मानिसहरुले पालेका पशु छाडा छोडिदिनाले सडक चौपायाले भरिन्छ । छाडा पशुहरुले किसानहरुको खेतवारीमा दिनहुँ नोक्सान गरेका छन् । यसरी आफूले पालेका पशुहरु बेवारिश छाड्नु भएन । छाडा पशुहरुले सडक र्दुघटना समेत निम्त्याएका छन् ।