fbpx

बर्दियामा पेट्रोलियम पदार्थ अनुगमनका क्रममा शुद्धता भेटियो

बर्दियामा पेट्रोलियम पदार्थ अनुगमनका क्रममा शुद्धता भेटियो

चुरेकुञ्ज, बर्दिया । बर्दियाका पेट्रोल पम्पहरुमा विक्री वितरण गरिने पेट्रोलियम पदार्थहरुमा शुद्धता पाईएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल आयल निगम नेपालगञ्जका विज्ञ टोलीसहितको अनुगमनका क्रममा पेट्रोलियम पदार्थहरुमा शुद्धता पाईएको हो । तर परिमाणमा गडबडी हुन सक्ने अनुमान गरिएको छ ।

जिल्लाका गुलरिया, मधुवन, ठाकुरबाबा, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा संचालनमा रहेका एक दर्जन पेट्रोल पम्पहरु परिक्षणसहितको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बताए । हामीले करिव बर्दियाका सबै पम्पहरुमा विक्री वितरण गरिने पेट्रोल, डिजल लगायतका पेट्रोलियम पदार्थको गुणस्तर मापन गर्यौ । सबैमा शुद्धता भेटिएको छ । कमी कमजोरी भेटिएका पम्पहरुमा सुधारका लागि सुझाव दिएका छौं ।

उनले भने पम्पहरुमा हुन सक्ने सम्भावित जोखिमहरुलाई न्युनिकरणगर्दै लगानीकर्ताहरुको लिकेज तथा नोक्सानीबाट बच्न सुझाव दिएका हौं । छिटपुट पम्पहरुमा वाष्पिकरणका कारण पानी थिग्रिएको भेट्यौ जुन सफा गर्न निर्देशन दिई सकेका छौं । पम्प भित्र रहेको पानी सतहमा थिग्रिने हुनाले ग्राहकको सवारी सम्म पुग्दैन । तर ट्याङ्की खिया लागेर चुहिन सक्छ भन्ने हेतुले ब्यवसायीको नोक्सानी कम गर्न त्यस्तो सुझाव दिएका छौं । पेट्रोलियम पदार्थको शुद्धताका सम्बन्धमा सबैलाई ढुक्क हुन शर्माले आग्रह गरेका छन् ।

पेट्रोलियम पदार्थहरुको तापक्रम, घनत्व लगायत ट्याङ्की भित्र रहेको पेट्रोलियम पदार्थको गुणस्तर मापन गरिएको नेपाल आयल निगम नेपालगञ्जका पेट्रोलियम पदार्थका विज्ञ बालकृष्ण रायले बताए । हामीले फिल्डमा तत्काल पेट्रोलियम पदार्थमा कुनैपनि अशुद्धता भेटाएनौ । एकाध पम्पमा केही पानी थिग्रिएको छ । एउटा ८ हजार १० लिटर डिजल भएको पम्पमा ९० लिटर परिमाणमा पानी थिग्रिएको छ । मिसाईएको पानी होईन । वाष्पिकरण भएर पानी बनेको हो । त्यसलाई सफा गर्दा राम्रो हुन्छ । सबै पम्पहरु गुणस्तमा क्लियर छन् । पानी मिसिएको पेट्रेलमा पानी थिग्रिने र पेट्रोल पानी माथी उत्रिने प्रकृया उनले पानी मिसाएर प्रयोगात्मक देखाएका छन् ।

पानी मिसिएर कसैको गाडी सिज भए पेट्रोल पम्पले क्षतीपूर्ति दिनुपर्ने प्रावधान रहेकाले पम्पहरुले जोखिम मोलेर पानी मिसावट गर्न नसक्ने विज्ञ रायको दावी छ । मट्टी तेल पेट्रोलमा घुल्छ तर मुल्य समान हुनाले मिसावटको कुनै सम्भावना नभएको उनले प्रष्ट्याए । आयल निगमले पेट्रोलियम पदार्थमा शुद्धता कायम गराउन धेरै प्रयासहरु गरेकाले सफलता प्राप्त भएको उनको भनाई छ ।

अनुगमनका क्रममा पम्पका तेल दिने मिटरहरुको शिल चेकजाँच गरिएको प्रशासकिय अधिकृत नारायणप्रसाद ढकालले बताए । हामीले सबै पम्पहरुमा तेल नापेर हेर्यौं परिमाण ठिक छ । कुनै कुनै पम्पमा परिमाण कम भएको र गुणस्तरहिन पेट्रोलियम पदार्थ विक्रीवितरणको गुनासो आउने हुनाले हामीले अनुगमनलाई तिव्रता दिएका हौं । ढकालले थपे कतै कतै पुराना, विग्रिएका र नापतौल विभागले प्रमाणित नगरेका मिटरहरुका परिमाणमा फरक आउन सक्छ तर गुणस्तरमा कमी छैन । कतैकतै फायर ग्यास विग्रिएको पायौं । नयाँ राख्न निर्देशन दिएका छौं ।

तपाइको मत